काठमाडौँ । काठमाडौँ प्रहरीले सुरक्षामा नयाँ अवधारणा अघि सारेको छ । त्यो हो । प्रविधिमा आधारित क्यूआरटी परिचालन त्यसमाथि पनि जीपीएस प्रणालीकै प्रयोग गरेर ।
उपत्यकामा शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रण एवं न्यूनिकरणका लागि जीपीएस प्रणालीसहित इलेक्ट्रोनिक्स क्वीक रेष्पोन्स टिम (इ–क्युआरटी’ खटाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी सेवा चुस्त एवं सेवालाई प्रविधिमैत्री बनाउनका लागि ‘सेफर भ्याली प्रोजेक्ट’ अवधारणाअन्तर्गत नागरिकका गुनासो तथा घटनाको ‘क्वीक रेष्पोन्स’ गर्न इ–क्युआरटी खटाएको जनाइएको छ ।
प्रहरीलाई प्रविधिमैत्री तथा प्रमाण र तथ्यमा आधारित अपराध अनुसन्धानलाई थप मजबुद बनाउँदै खटिएका प्रहरी कर्मचारीमाथिको नियमनलाई समेत प्रभावकारी बनाउन प्रविधिमा आधारित क्वीक रेष्पोन्स टिम परिचालन गरिएको परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले बताउनुभयो ।
पहिलो चरणमा काठमाडौँ जिल्लाभरीका ६० वटा टिमलाई डिजिटल प्रविधिसहित परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर तथा मातहत वृत्त÷प्रभागबाट जीपीएस प्रणालीद्धारा प्रहरीको क्वीक रेष्पोन्स टिमलाई सम्बन्धित घटना घटेको स्थानमा यथाशिघ्र पुग्ने वातावतण निर्माण गर्न २४सै घण्टा प्रहरी नियन्त्रण कक्षबाट ट्रयाकिङ गर्न सकिने गरी डिजिटल प्रणाली जडान गरिएको छ ।
टोली घटना स्थलमा पुग्नासाथ घटना स्थलको यथार्थ विवरणसहित प्रहरी काम कारबाही र पीडित वा सेवाग्राहीसँग गरेको व्यवहारको समेत स्वचालित रुपमा नियन्त्रण कक्षमै रेकर्ड हुने तथा नियन्त्रण कक्षबाट समेत क्यूआरटी टिमको गतिविधि तथा घटनास्थलको बारेमा लाइभ हेर्न सक्ने गरी ६० वटा क्यूआरटीको शरीरमा क्यामरा समेत थप गरिएको छ ।
उनीहरु पहिलो रेष्पोन्स गर्ने टोलीको रुपमा २४सै घण्टा फिल्डमा परिचालन हुने खत्रीले बताउनुभयो । उनीहरुमार्फत प्रहरीको कारबाहीलाई शीघ्र, चुस्त एवं प्रभावकारी बनाउनका लागि टोलीलाई जिपिएस ट्राकिङ डिभाइज, भिडियो क्यामरा, रेडियो सेट, बत्तीसहितको साइरनलगायत अन्य सुरक्षा सामग्रीसहित खटाइएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले उक्त टोलीमार्फत अब काठमाडौका उपत्यकाको सुरक्षा प्रविधिमैत्री हुँदै थप प्रभावकारी हुने समेत बताउनुभयो।
उहाँले प्रहरीलाई प्रविधिमैत्री बनाउने काममा उपत्यका प्रहरीले उचच प्राथमिकता दिँदै आएको पनि बताउनुभयो ।