काठमाडौँ : आज एकाएक राजनीतिक कोर्स फेरिएको छ । कांग्रेसलfई छाडेर माओवादी केन्द्रले एमालेलाई हातमा लिइ नयाँ गठबन्धन निर्माण गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज ३ जना मन्त्री नियुक्त गरेका छन्।
नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई नियुक्त गरेका हुन्। नवनियुक्त तीनै जना मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आजै पद तथा गोपनीयताको शपथ गराइसकेका छन् । उनीहरुको मन्त्रालय टुंगिएको भने छैन ।
पुरानो मन्त्रिपरिषद्का सबै मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्रीले खोजेका छन् । कुनै पनि मन्त्रीले राजीनामा नदिँदै उनले जिम्मेवारी खोसेर आफैँ राखेका छन् ।
बाम–लोकतान्त्रिक गठबन्धन टुटेसँगै दुबै पक्षले यसको दोष एकअर्कालाई लगाएका छन्। माओवादीले कांग्रेसका कारण सरकारले नै अपेक्षित गति लिन नसकेको, पटक–पटक कोशीमा घात भएको, जनयुद्धको जगमा उभिएको संघीयतामा मोजमस्ती गरे पनि जनयुद्धलाई अपमान गरेको, हिन्दु राष्ट्र स्थापनाको मुद्दामा काँध थाप्न लागेको र गठबन्धनमा रहेर गठबन्धनविरोधी निर्णय पारित गरेको जस्ता आरोप थोपरेको छ।
लामै समययता कांग्रेस र उसका मन्त्रीहरूसँग असन्तुष्ट रहँदै आएका प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरण निर्माणपछि कांग्रेसले सहयोग नगरेकै कारण गठबन्धन फेर्न बाध्य भएको स्पष्ट पारेका छन्।
खासगरी कांग्रेसबाट अर्थमन्त्री रहेका डा प्रकाशशरण महतले सहयोग नगरेको र मन्त्रिपरिषद् पुनर्गठन गर्न पनि नमानेपछि समीकरण परिवर्तन गर्नुपरेको पार्टी नेताहरूसँग उनले ब्रिफिङ गरेका थिए।