गण्डकी : कर्णाली पछि गण्डकी प्रदेशमा पनि शुरु भएको छ प्रादेशिक ललितकला प्रदर्शनी । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठान एवं सिर्जनशील कलाकार समूहको सहकार्यमा पोखरास्थित नयाँबजारस्थित पोखरा आर्ट ग्यालरीमा शनिबारदेखि प्रदर्शनी शुरु भएको हो ।
सुरु भएको प्रादेशिक ललितकला प्रदर्शनीमा ८० कलाकारका कलाकृति राखिएको छ । पहिलो पटक भएको ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ फागुन २३ गतेसम्म सञ्चालन हुनेछ ।
प्रदर्शनीको शुभारम्भ गर्दै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले ‘सामाजिक रुपान्तरण : ललितकलाको अभियान’ भन्ने भावका साथ सातै प्रदेशमा कार्यक्रम थालिएको बताए।
उनले परम्परागत शैलीमा सञ्चालन हुँदै आएका कार्यक्रमलाई अहिलेको नयाँ व्यवस्थापनले व्यवस्थित र प्रभावकारी बनाउन अन्य धेरै काम अघि बढाएको र त्यही अनुरुपको यो प्रदर्शनी भएको बताए।
उनले भने, ‘नेपालमा प्रचलित विभिन्न समुदायका कला र सिर्जनालाई प्रतिष्ठानले प्रशिक्षण, प्रदर्शनी तथा खोज अनुसन्धान गर्ने कामलाई अगाडि बढाएको छ । हामीले कतिपय जनजाति एवं आदिवासीका कला आज देख्न पाउँदैनौ, केही अपवादबाहेक घरभित्र थन्किएको छ, समुदायमा थन्किएको छ । सुषुप्त हुन थालेको छ, त्यसलाई पुनर्जागरण गर्ने भनेका छौं र त्यसै अनुसार काम गरिरहेका छौं । यो प्रदर्शनी पनि त्यसको एक कडीको रुपमा बुझ्नुपर्छ ।’
उपकुलपति लामाले प्रदेश हुँदै स्थानीय तहसम्म पुग्ने आफूहरुको तयारी रहेको बताए। उनले समाजको तल्लो तहसम्म पुगेर त्यहाँ रहेका कलालाई माथि उठाउने योजनाका साथ आफूहरुले काम गरिरहेको जिकिर गरे ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख एवं गण्डकी प्रदेश समन्वय समिति संयोजक सौरगंगा दर्शनधारीले सबैको साथ सहयोगका कारण पोखरामा प्रदर्शनी गरिएको बताइन्।
गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले अबदेखि हरेक वर्ष १० दिने कला प्रदर्शनी गण्डकी प्रदेशमा आयोजना गरिने बताए ।
उनले प्रदर्शनीले कलाक्षेत्रमा जागरण ल्याउन महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए । गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा उद्घाटनसत्र गरिएको थियो ।
गण्डकी प्रदेशका ११ वटै जिल्लाका कलाकारका कुल ७४ वटा कला प्रदर्शनीमा राखिएको छ ।
कर्णाली प्रदेशको प्रदर्शनी फागुन २१ गतेसम्म चल्नेछ भने गण्डकीमा फागुन १९–२३, सुदूरपश्चिमममा फागुन २०–२४, लुम्बिनीमा फागुन २२–२६, कोशीमा फागुन २९–चैत ३, मधेसमा चैत २–५ तथा बागमतीमा चैत १२–१६ गतेसम्म हुनेछ ।
प्रदर्शनीबाट छानिएका कलाकृतिहरू आउँदो २०८१ जेठ १५ गते काठमाडौँमा हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा राखिनेछ ।
https://www.facebook.com/735566706/videos/pcb.10159327901406707/740253054750208