चितवन । आज चितवनको नारायणी किनारमा एक विशेष समारोहका बीच भरतपुर भ्रमण वर्ष २०२४ को समुद्घाटन गरिएको छ।
उक्त समारोहमा नेपालका बहालवाला प्रधानमन्त्री र चार पूर्व प्रधानमन्त्रीले चितवन अथाह पर्यटकीय सम्भावना भएको जिल्लाको रुपमा चित्रित गर्नुभएको छ।
उक्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनालको सहभागिता थियो ।
उहाँहरुले भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको र यसलाई अन्तरराष्ट्रिय पर्यटन क्षेत्रको गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको ।
उहाँहरुले भरतपुरमा पूर्वाधार विकाससँगै कृषि, शिक्षा, स्वास्थ्य क्षेत्र र पर्यटनको केन्द्र बनाउन सकिने बताउनुभएको छ । ‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ आज उद्घाटन गरिएको हो ।
चितवनमा रत्ननगर नगरपालिकाको सौराहाबाट माडी नगरपालिकाको सोमेश्वर गढीसम्म, राप्तीको परेवाकोटबाट खैरहनीको कुमरोजसम्म, कालिकाको सिन्ते झरनाबाट गैँडाकोटको मौलाकालिकासम्म, चितवनको उच्च भाग इच्छाकामनाको सिराइचुलीबाट बागमती प्रदेशकै होचो भू–भाग भरतपुर महानगरपालिकाको गोलाघाटसम्मका ५० भन्दा बढी गन्तव्य रहेको छ ।