काठमाडौँ । नेपाल ललितलका प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ भन्ने मूल भावमा रही पहिलो पटक सातै प्रदेशमा गर्न लागिएको ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ बिहीवारबाट कर्णाली प्रदेशको सुर्खेतबाट सुरू भएको छ ।
कर्णाली प्रदर्शनीका मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख आतिथ्यतामा भएको प्रदर्शनी उद्घाटनमा ४६ जना कलाकारका ६६ वटा कलाकृति समावेश छन् । कार्यक्रममा मुख्यमन्त्री शर्माले हामीसँग भएका तमाम प्राकृतिक क्षमता, कलालाई कसरी प्रस्टफुटित गर्ने, अभिव्यक्ति गर्ने र यसलाई विश्वसामु कसरी चिनाउने भन्ने कुरा अहिलेको चुनौती भएको बताउनुभयो ।
उहाँले कला क्षेत्रलाई माथि उठाउने कुरा सबै मिलेर मात्र सम्भव रहेको धारणा व्यक्त गर्नुभयो । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले संस्थागत नेतृत्व गर्ने अर्थमा प्रज्ञा–प्रतिष्ठान रहेको तर कला सिर्जना गर्ने कुरामा भने कलाकारहरू नै रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रदर्शनीलाई विगतमा सिधै राष्ट्रिय (केन्द्र) भनेर काठमाडौँ केन्द्रित गरिएको थियो त्यसो गर्दा भौगोलिक र आर्थिक रूपले सर्जकहरूको सहभागिता सहजता खासै नभएको तर पहिलो प्रदेश प्रदर्शनीले अझ बढी उत्साह जगाएको छ । यसपटक सम्मान र मूल्यांङ्कनमा पनि विशेष सुविधा र पुरस्कार रकम पनि विशेष थप गरिएको जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘कलाको पहिचान प्रदेश र केन्द्रमा मात्र सीमित नगरेर विश्वमा नै चिनाउनु जरूरी छ ।’
प्राज्ञ पाल्साङमो लामाले नेपाली कलाको जगलाई बलियो बनाउने गरी प्रदर्शनीले मार्ग कोर्नेमा आफू विश्वस्त रहेको विचार व्यक्त गर्नुभयो । उहाँले प्रदर्शनीले नेपाली समाजमा विकसित कलाकृतिलाई राष्ट्रको मूलधारमा ल्याउन महत्वपूर्ण सहयोग गर्ने धारणा राख्नुभयो । कलामार्फत सामाजिक जागरण ल्याउने गरी प्रतिष्ठानले काम गरिरहेको उहाँको जिकिर थियो ।
कार्यक्रममा जननमूना माध्यामिक विद्यालयका प्राचार्य याम श्रेष्ठ, जन–सांस्कृतिक महासङ्घका कार्यबाहक अध्यक्ष भीम कुमाखी, डा।नवराज केसी लगायतले बोल्नुभएको थियो ।
कर्णाली प्रदेशको प्रदर्शनी फागुन २१ गतेसम्म चल्नेछ भने गण्डकीमा फागुन १९–२३, सुदूरपश्चिमममा फागुन २०–२४, लुम्बिनीमा फागुन २२–२६, कोशीमा फागुन २९–चैत ३, मधेसमा चैत २–५ तथा बागमतीमा चैत १२–१६ गतेसम्म हुनेछ ।
प्रदर्शनीबाट छानिएका कलाकृतिहरू आउँदो २०८१ जेठ १५ गते काठमाडौँमा हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा राखिनेछ ।