काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु काठमाडौँको आयोजना र चन्द्रागिरी हिल्स प्रालिको सहकार्यमा सञ्चालित ३ दिने ‘चन्द्रागिरी केबलकार आपतकालिन उद्धार अभ्यास–२०८०’ अन्तर्गत आज कृतिम घटनाक्रममा आधारित उद्धार अभ्यास सम्पन्न भएको छ ।
आपतकालिन अवस्थामा उद्धारका लागि तयारी रहनका लागि उक्त अभ्यास गरिएको पशुपतिनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरूषोत्तम थापाले जानकारी दिनुभयो ।

नेपालमा उदयीमान केबलकार प्रविधिमा हुन सक्ने जुनसुकै आपत्तकालीन अवस्थामा उद्धार तथा व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल, नेपाल र केबलकार सञ्चालकहरु बीच आ–आफ्नो मानव संसाधन, स्रोतहरुको अवस्था, सामथ्र्य एवं दुई संस्थाहरु बीचको सहकार्यलाई प्रभावकारी बनाउने र प्रविधिलाई पूर्णतः सुरक्षित बनाउनु रहेको उहाँले बताउनुभयो ।
उहाँले नागरिकको सेवा र सुरक्षालाई प्राथमिकतामा राख्दै सशस्त्र प्रहरी बल, नेपालले पछिल्लो समयमा ‘बोर्डर सेक्युरिटी, इन्टरनल सेक्युरिटी, रिभेन्यु सपोर्ट र डिजास्टर म्यानेजमेन्ट’ (विआइआरडी) अवधारणालाई प्राथमिकतामा राखेको बताउनुभयो ।
उहाँले सोही अन्तर्गतको एउटा कार्य विपत व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै लैजाने संगठनको नीति अनुरुप सरोकारवाला जुनसुकै निकायसँग समन्वय र सहकार्य गरी विपद्बाट हुने जोखिम तथा क्षति न्युनिकरण गर्न सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय सदैव तत्पर रहेको बताउनुभयो ।

उक्त उद्धार अभ्यासमा मुख्यालयका तर्फबाट सशस्त्र प्रहरी नायव उपरीक्षक कमलबहादुर अधिकारीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त २६ जना र चन्द्रागिरी हिल्सको तर्फबाट मेकानिकल ईन्जिनियर मधुकर बलामीको कमाण्डमा ८ जना गरी जम्मा ३४ जना उद्धारकहरु सहभागी हुनुभएको थियो ।
अभ्यासमा दुई वटा फरक–फरक आपत्कालीन अवस्थाको परिकल्पना गरी माथिबाट तल तर्फ र माथिबाट दाया वा बाया सुरक्षित स्थानतर्फ क्याविनमा सवार यात्रुहरुलाई रोप रेस्क्यु प्रविधिको प्रयोग गरी उद्धार गर्ने प्रविधिहरुको प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा चन्द्रागिरी हिल्सका कार्यकारी निर्देशक अरुण प्रधानले सशस्त्र प्रहरी बल, नेपालले हालका दिनहरुमा विपद् व्यवस्थापनको क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै यस उद्धार अभ्यासले आगामी दिनमा हुन सक्ने केबलकार आपत्कालिन अवस्थामा उद्धार तथा ब्यवस्थापन गर्न दुई संस्था बिचको क्षमता अभिवृद्धि भएको बताउनुभयो ।
https://www.facebook.com/watch?v=7177958525653313