काठमाडौँ : नेपाली गीत, सङ्गीतका क्षेत्रमा सङ्गीतसम्राटका रुपमा सम्झिने गायन, संगीत र गीत रचनाका विलक्षण प्रतिभा अम्बर गुरुङको एउटा महत्वपूर्ण सपना थियो “नेपाली चेम्बर अर्केस्ट्रा’ बनाउने ।
तत्कालीन शाही नेपाल प्रज्ञा प्रतिष्ठानमै रहँदा उहाँले ६ जना जतिको अर्केस्ट्रा बनाउने सपना बुन्नुभएको थियो । उक्त सपना अहिलेसम्म पुरा हुन सकेन ।
उहाँको आज ८६औँ जन्मजयन्ती मनाइरहँदा सङ्गीत साधकहरुले त्यही कुरालाई घच्घच्याइरहेका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले उहाँको जन्मजयन्तीका अबसरमा आज उहाँको योगदानको सम्ममानमा वरिष्ठ सङ्गीतकर्मी बीच काठमाडौँमा अन्तरक्रिया गरी स्मरण गरेको छ।
उक्त प्रतिष्ठानका प्रथम कुलपति तथा नेपाली राष्ट्रिय गानका सङ्गीतकार हुनुहुन्छ अम्बर गुरुङ । आजको कार्यक्रममा उहाँको अर्केस्ट्रा बनाउने सपना पुरा हुन नसकेकोमा सहभागीहरुले चिन्ता प्रकट गरेका छन् ।

गुरुङसँग १५ वर्ष काम गर्नुभएका दीपक जङ्गम नेपाली अर्केस्ट्रा बनाउने उहाँको सपना पुरा गर्न सके त्यो भन्दा ठूलो उपलब्धि अरु केही नहुने र उहाँको सच्चा सम्मान हुने बताउनुहुन्छ ।
उहाँले गुरुङ नेपाली गीत, सङ्गीत र नाट्य विधालाई अन्तराष्ट्रियस्तरको कसरी बनाउन सकिन्छ भनेर चिन्तन मनन् गरिरहने व्यक्तिका रुपमा सम्झनुभयो । “नेपालमा पनि गीत, सङ्गीताका धेरै विज्ञहरु हुनुहुन्छ, उहाँहरुको विज्ञतालाई प्रयोग गर्न सके पनि अम्बर दाईको सोच केही प्रतिशत पुरा हुन्छ”, उहाँले भन्नुभयो ।
विसं १९९४ फागुन १४ गते आजैका दिन दार्जिलिङको लालढिकीमा उहाँको जन्म भएको थियो । उहाँका हजुरबुवा भारतीय सेनाको जागिरे भएर भारत जानुभएको थियो । उहाँका बुवा उजिरसिंह गुरुङले पनि भारतीय सेनामै जागिर खानुभएको थियो । उहाँको पुख्र्यौली थलो भने गोरखा जिल्लाको रिसिङ हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले नेपाली राष्ट्रिय गानका सङ्गीतकार मात्रै भनेर अम्बर गुरुङको योगदानलाई नभुल्न आग्रह गर्नुभयो ।
उहाँले स्मरण गर्नुभयो, “अमबर दाईको आफ्नै गायन, शब्द र सङ्गीत रहेको ‘उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरु को होला… ले सम्वेदनामै हिर्काएको महसुस हुन्छ, अर्काे उहाँकै शब्द र सङ्गीत रहेको ‘सम्हालेर राख…’ बज्दा दाईको बिम्व मेरा अगाडि आउँछ ।”
अम्बर गुरुङलाई सङ्गीतको ऋणिमुनि मान्ने कुलपति राई जीवनको उत्तरार्धमा उहाँसामु सङ्गीत भर्न अनुरोधका लागि भन्दा पनि उहाँका कुरा सुन्न जाने गरेको सुनाउनुभयो ।

गुरुङलाई सम्झँदा नेपाल प्रवेश अघिको ‘नौ लाखे तारा…’को समयलाई एउटा आयाम र नेपाल आएपछिको अवस्थालाई अर्काे आयामका रुपमा बुझ्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । उहाँले गुरुङलाई सङ्गीताकार भन्दै गर्दा गीतकार र निबन्धकारको परिचयलाई नभुल्न आग्रह गर्नुभयो ।
“त्यसैले उहाँ ऐतिहासिक कडी जोडिएको व्यक्ति हो भन्छु म, कोही एउटै गीत, कविताले चर्चित हुन्छन्, तर अम्बर दाई एउटा गीत होइन जुनसुकै गीत, सङ्गीत हेर्नुहोस् कस्तो छ”, उहाँले भन्नुभयो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा प्रथम कुलपति गुरुङको स्मरण गर्दा उहाँको योगदानका साथै डिप्रेसनमा गएको कुरा भुल्न नहुने बताउनुहुन्छ । त्यसबेला नाट्य निर्देशक सुनिल पोखरेललगायतका व्यक्तिहरुले गीत गाउन लगाएर उहाँलाई डिप्रेसनबाट छुटाएको कुरा विर्सन नहुने बताउनुहुन्छ । त्यो बेला उहाँलाई धेरैले विर्सिएको अनुभव उहाँले सुनाउनुभयो ।

पुराना दिग्गज व्यक्तित्वहरुलाई विर्सन हुन्न भनेर आज यो कार्यक्रम गरिएको र यसअघि बालकृष्ण समलाई पनि स्मरण गरिएको उहाँले सुनाउनुभयो ।
शर्माले प्रतिष्ठानमा आफू काम गर्नका लागि आएको र सबैको राय, सुझाव र सल्लाहकै आधारमा सङ्गीत नाट्यलाई अघि बढाउने सोच आफ्नो रहेको सुनाउनुभयो ।
उहाँले भन्नुभयो, “अउनुहोस्, छलफल गरौँ, बसौँ, कसरी अघि बढाउन सकिन्छ, सरकारलाई घच्घच्याउन सँगै जाउँ, काम गर्न सकियो भने अम्बर गुरुङजस्ता अग्रजहरुको सपना पुरा गर्न सकिन्छ ।”
उहाँले अम्बर गुरुङको नेपाली अर्केष्ट्रा बनाउने सपना पुरा गर्नका लागि बजेट माग गरेर मन्त्रालयमा योजना पेश गरेको पनि सुनाउनुभयो ।
गुरुङको ८६ औँ जन्मजयन्तीका अबसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति शम्भु राई, सदस्य सचिव कुस्मा महरा, सङ्गीतकार अमूल कार्की, पूर्वसदस्यसचिव तथा रचनाकार श्याम तमोटलगायतले गीत सङ्गीतको क्षेत्रमा अमर गुरुङको योगदान अतुलनीय रहेको र उहाँको सपना पुरा गर्न सबैको एकसाथ पहल जरुरी रहेको औँल्याउनुभयो ।

कार्यक्रममा गायक तथा सङ्गीताकार विष्णु अधिकारी र तबलाबादक कुमार महराजले ‘मेरो यो गीतमा जुन मुर्छना छ…’, वरिष्ठ सङ्गीतकार एवं गायिका सङ्गीता प्रधानले ‘कति सम्हालौँ चोटहरु…’ र गायिका कुन्ति मोक्तानले ‘उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरु को होला…’ गीत प्रस्तुत गर्दै अम्बर गुरुङको योगदानलाई स्मरण गर्नुभएको थियो ।
