काठमाडौँ । प्रमाणमुखी अपराध अनुसन्धान कार्यमा नेपाल प्रहरीको ‘डिजिटल फरेन्सिक ल्याब’ सहयोगसिद्ध भएको छ ।
डाटाको आवश्यक विश्लेषण गरी आएको नतिजालाई रिपोर्टिङ गर्ने भएकाले फरेन्सिक ल्याबले अदालत वा न्यायिक प्रक्रियाको अनुसन्धानका लागि समेत प्रभावकारी तुल्याएको प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।
उहाँका अनुसार स्थापनादेखि हालसम्म ल्याबले ४ हजार ५५३ वटा मुद्दाका जम्मा २१ हजार ४१५ वटा सबुद परीक्षण गरेको छ । अझै ५ हजार ११३ वटा मुद्दाका २४ हजार ४२५ वटा सबुद परीक्षणका लागि ल्यावमा दर्ता भएका छन् । उहाँले अहिले दर्ता भएका मध्ये ५६० मुद्दाका ३ हजार १० सबुद परीक्षणका क्रममा रहेका बताउनुभयो ।
चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ७ महिनाको अवधिमा मात्रै ४४० वटा मुद्दाका २ हजार १ सय ६२ वटा सबुद परीक्षण सम्पन्न भएका जनाइएको छ ।
ढकालले भन्नुभयो, “प्रमाणमुखी अपराध अनुसन्धान कार्यमा सहयोग गर्ने र सहजता ल्याउने भूमिका ल्याबको रहन्छ । आजकल अपराधीले समेत कतै न कतै डिजिटल प्रविधि प्रयोग गरेर अपराध गर्न थालेको देखिन्छ । त्यसैले प्रहरीले पनि आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी उच्चतम प्रयोग गर्न थालेको हो ।”
नेपालमा अपराध अनुसन्धानको क्रममा संकलित वैज्ञानिक प्रमाणहरू संरक्षण, उत्खनन् र विश्लेषण गर्न डिजिटल फोरेन्सिक ल्याव स्थापना भई क्रियाशील रहेको छ ।
ल्याबका प्रमुख, प्रहरी उपरीक्षक श्यामकुमार मण्डलका अनुसार हाल ल्याबबाट कम्प्युटर, मोबाइल, सामाजिक सञ्जाल, मल्टीमिडिया, मेमोरी, ड्रोन, जिपिएस र आईओटी डिभाइसलगायतका फरेन्सिक परीक्षण र विश्लेषण गरी सम्बन्धित निकायलाई रिपोर्ट प्रदान गर्ने गरिएको छ ।
अपराधको प्रकृति र प्रवृत्तिमा डिजिटल प्रविधिको प्रयोगतर्फ ध्यान जानु आवश्यक छ । हाल अदालत, संवैधानिक आयोग, नेपाल सरकारबाट गठित समितिहरू, नेपाल प्रहरी, नेपाली सेना, राजश्व अनुसन्धान विभाग, सम्पत्ती सुद्धिकरण विभाग, वन कार्यालय समेत फरेन्सिक सेवा प्राप्त गरिरहेका छन् ।