काठमाडौँ : सभामुख देवराज घिमिरेले विभिन्न जिल्लामा कलाकारहरु पुगेर सिर्जना गरिएका चित्रहरु काठमाडौँमा ल्याई प्रदर्शन गर्दा त्यसले सम्पदाको महत्व बढाउने र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने बताउनुभएको छ ।
काठमाडौँको नेपाल कला परिषद्मा जारी ‘मुन्धुम अन्तरराष्ट्रिय चित्रकला प्रदर्शनी’को आज अवलोकन गर्नुहुँदै उहाँले यस्ता कार्यक्रमहरु हरेक जिल्लामा आवश्यक रहेको पनि बताउनुभयो ।
“खोटाङको दिक्तेलमै पुगेर कलाकारहरुले चित्र निर्माण गर्नु महत्वपूर्ण कुरा हो, त्यहाँका विशेषतालाई कलामार्फत उतारेर काठमाडौँमा प्रदर्शन गर्दा देशका सम्पदाको महत्व बढ्ने र यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ”, सभामुख घिमिरेले भन्नुभयो ।
उहाँले यस्ता महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई धन्यवाद पनि दिनुभयो ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो, काठमाडौँको आयोजनामा यही फागुन ५ गतेदेखि शुरु भएको ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ १७ गतेसम्म जारी रहने छ ।
प्रदर्शनीमा अवलोकनका लागि कला पारखीहरुको बाक्लो उपस्थिति हुने गरेको धनु आर्ट स्टुडियोका सञ्चालक धनु याख्खाले बताउनुभयो । प्रदर्शनीमा ५० देशका कलाकारले बनाएका २१० वटा सिर्जनाहरु प्रदर्शन गरिएको छ ।
उनीहरुले गएको असोज १७ गतेदेखि २० गतेसम्म दिक्तेलमै पुगेर मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा सहभागी भइ बनाएका सिर्जनाहरु यहाँ ल्याएर प्रदर्शन गरिएको हो ।
चित्रकलाको माध्यमबाट पालिकाको संस्कृति र पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउनका लागि चिककला कार्यशाला गरी काठमाडौँमा ल्याएर प्रदर्शन गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले रासससँग बताउनुभयो ।
प्रदर्शनीको शनिवार राष्ट्रपति रामवरण यादवबाट उद्घाटन गरिएको थियो । प्रदर्शनीमा नेपालसहित अस्ट्रेलिया, बाङ्लादेश, भूटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामलगायत देशका कलाकारले बनाएका चित्रहरु समावेश छन् ।