काठमाडौँ : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा अन्तरराष्ट्रिय चित्रकला प्रर्दनी आजबाट सुरु भएको छ ।
‘कनेक्टिङ कल्चर थ्रु आर्टस्’ शीर्षकमा गएको माघ २२ र २३ गते आयोजित ‘अन्तर्राष्ट्रिय कला कार्यशाला २०२४’बाट सिर्जित कलाकृतिहरुको आजबाट प्रदर्शनी सुरु भएको हो ।
नेपाल र जर्मनीका कलाकारको सहभागिता रहेको कला प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले उद्घाटन गर्नुभयो।
उक्त समारोहमा राज्यमन्त्री सिर्पालीले यस्ता खालका चित्रकला कार्यशाला र प्रदर्शनीले संस्कृति आदानप्रदानमा सहयोग पुग्ने र पर्यटक विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपाल जर्मनबीच मित्रता कायम राख्न पनि कला प्रदर्शनी फलदायी हुने बताउनुभयो । उहाँले कला र संस्कृतिले जनस्तरसम्मको सम्बन्धलाई मजबुत बनाउने भएकाले कला र सँस्कृतिसँग सम्बन्धीत कार्यक्रमहरु निरन्तर अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
प्रदर्शनीमा नेपाल र जर्मनीका ४३ कलाकारहरूको सिर्जनाहरु समावेश गरिएको छ । उक्त कार्यक्रममा नेपालका लागि इजरायलका राजदूत खनान गोडर र जर्मनीका राजदूत डा थोमस प्रिन्जको उपस्थिति रहेको थियो ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यस कार्यक्रमले नेपाल र जर्मनीबीचको सम्बन्ध अझ प्रगाढ बढाउने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी जर्मनी नपुगे पनि यस्ता कार्यक्रमको माध्यमबाट अर्को देशको कला र संस्कृतिलाई बुझ्ने मौका मिलेको छ, हाम्रो कला संसकृतिहरु जर्मनीका कलाकारले बुझ्ने मौका पाए, यसले सँस्कृति र कलाको सम्बन्धलाई थप बलियो बनाउँछ ।”
प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य सञ्जय वान्तवा राईले दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन आयोजत कला कार्यशाला र प्रदर्शनी लक्षित उद्देश्य प्राप्त गर्न सफल भएको बताउनुभयो ।
सो क्रममा जर्मनी कलाकारहरु एलेक्जेन्डर इलाइजर, डिर्क निबेर्गल र एलेक्जेन्डर बिसी बोटेनबर्जले नेपाली कला कार्यलाला र प्रदर्शनीमा सहभागी भई यहाँको कला संस्कृति बुझ्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।
प्रदर्शनीमा नेपालबाट प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, तथा प्राज्ञ परिषद सदस्यहरु पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय वान्तवा, अरुणा हिङमाङसहितका ३३ जना नेपाली कलाकारका सिर्जनाहरु समावेश छन् । यस्तै जर्मनीका १० जना कलाकारका सिर्जना समेत प्रदर्शनीमा रहेका छन् ।
जर्मनीका कलाकारहरू नेपाल कला आदानप्रदान कार्यक्रमका सिलसिलामा नेपाल आउनुभएको हो । उक्त प्रदर्शनी यही फागुन १४ गतेसम्म चल्ने छ ।