काठमाडौँ : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पछिल्लो एक वर्षमा उल्लेखनीय कार्य गरेर छ ।
पहिलो पटक सङ्घीयताको अभ्यासलाई पूर्णत कार्यान्वयनमा लगेको प्रतिष्ठानले स्थानीयतहसँगको सहकार्यमा दर्जनौँ कार्यक्रमसहति पालिकाहरुमा विभिन्न विषयगत क्षेत्रको कला हर्ब बनाउने योजना अघि सारेको छ ।
कलाको संरक्षण, प्रवद्र्धन र पर्यटन विकासका साथै यस वर्षबाटै प्रादेशिक ललितकला प्रदर्शनीको थापनी गर्न लागेको प्रतिष्ठानले प्रदेशगत रुपमा गोष्टी, छलफल, सम्मेलन तथा कला कार्यशालाहरुको आयोजनाको समेत थालनी गरेको छ ।
प्रतिष्ठानमा नियुक्ति भएर आएका वर्तमान पदाधिकारीहरुको कार्यकाल एक वर्ष पुरा भएको अबसरमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले नेपालको सांस्कृतिक क्षेत्रलाई समृद्ध बनाउन समन्वय गर्दै अघि बढ्ने योजनाका साथ रैथाने, मौलिक कला र संस्कृतिको उजागरमा प्रतिष्ठानले पाइला चालेको बताउनुभयो ।
उहाँले कलामा मौलिकता एवम् सिर्जनात्मकता भर्दै व्यवसायीकरणका साथै रोजगारी सिर्जना गरी अर्थतन्त्रमा योगदान दिने लक्ष्यका साथ कार्यक्रम अघि बढाइएको बताउनुभयो ।
प्रतिष्ठानले कलामा पुनर्जागरणको अभियान चलाएको बताउँदै थुम्केलीले किरात वास्तुकला, नेपाली अर्थतन्त्रमा ललितकलाको योगदान, नेपालका लोककला, हस्तकला, परम्परागत कला जस्ता विषयमा अध्ययन अनुसन्धानको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।
ललितकलाको खोज, अध्ययन, अनुसन्धानका लागि अर्धवार्षिक जर्नल ‘ललितकला प्रज्ञा’ प्रकाशन सुरु गरिएको पनिजानकारी दिनुभयो । प्रतिष्ठानले नेपालको मौलिक रैथाने संस्कृति तथा शिल्प ज्ञानलाई अगाडि बढाउने गरी कार्यक्रम गरिरहेको बताउनुभयो ।
उहाँका अनुसार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले देशका सातै प्रदेशमा कलाको सञ्चार गरिरहेको र यसको बहुआयामिक पक्षका बारेमा बहस गर्दै अगाडि बढ्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले ललितकला क्षेत्रको रणनीतिक योजना बनाएर काम थालेको छ । प्रतिष्ठानले प्राज्ञिक उन्नयनका लागि प्रतिष्ठानले योजनाबद्ध ढंगले काम गरिरहेको जनाएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ‘प्रज्ञा पोखरा घोषणा–पत्र, काठमाडौँ प्रज्ञा घोषणा–पत्रले उठाएका सवालहरू संस्कृति नीति एवम् केन्द्रीय, प्रादेशिक र स्थानीयस्तरमा गठन हुने सांस्कृतिक संरचनाबीचको समन्वय, नीति, नियम, कलाकार उपचार कोष आदिका बारेमा बताउँदै गएको एक वर्षमा उल्लेखनीय काम गरेको दाव गर्नुभयो ।
राज्यले कला र संस्कृतिको महत्व नबुझेको र अन्य क्षेत्रका तुलनामा कला, साहित्य क्षेत्रमा कम बजेट छुट्ट्याएको जिकिर गर्दै कुलपति हार्तम्छालीले समानुपातिक, समावेशी ढङ्गबाट राज्यका हर क्षेत्रको बजेटको बाँडफाँड हुनुपर्ने बताउनुभयो ।
कला, साहित्यको विकासविना राज्यले समृद्धि हासिल गर्न र आर्थिक क्रान्ति गर्न सक्दैन, उहाँले भन्नुभयो, जगैदेखि ललितकला र सङ्गीतको पनि उन्नयनका लागि भाषा, साहित्यका विषयवस्तुलाई मात्र पाठ्यक्रममा समावेश नगरी समावेशी र समन्यायिक ढङ्गबाट ललितकला र सङ्गीतका विषयवस्तुलाई पाठ्यक्रममा समावेश गर्नुपर्छ ।
कुलपति हार्तम्छालीले अब आफूहरू प्रतिष्ठानको तर्फबाट उत्तर दिने अवस्था आफू आइपुगेको बताउनुभयो ।