काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको एक वर्षे कार्यप्रगति र समस्याबारे आज सार्वजनिक गरिएको छ ।
प्रतिष्ठानको कार्यालय नक्सालमा नयाँ नियुक्ति भएर आएपछिको एक वर्षे कार्यप्रगति सार्वजनिक गर्दै प्रतिष्ठानकी कुलपति निशा शर्माले बजेट अभावमा सोचेजस्तो काम गर्न नसकिएको बताउनुभयो ।
उहाँले देशमा महत्वपूर्ण कार्यक्रम गर्ने भनेर कार्ययोजना निर्माण गरी पेश गरिए पनि बजेट कटौती हुँदा धेरे कार्यक्रम गर्न नसकिएको बताउनुभयो । उहाँले बजेको सीमामा रहेर केही महत्वपूर्ण काम गरिएको बताउनुभयो ।
“बजेट अभावले काम गर्नै सकिएन, विश्वमा कला सँस्कृतिको विकास राज्यको लगानीमा मात्रै सम्भव छ तर नेपालमा प्राथमितामा परेन”, उहाँले भन्नुभयो, “प्रतिष्ठानमा सङ्गीत, नृत्य तथा नाट्य कक्षा लिने सोच त छ तर ठाउँ छैन, कतैबाट अनुदान आयो भने टहरो बनाएर भने पनि काम गर्नुपर्ने छ ।”
उहाँले गर्ने धेरै खोजेको, त्यसका लागि भिजन पनि रहेको र विज्ञहरु भए पनि अन्तिममा बजेटमै ठोक्किने हुँदा सोचेको काम गर्न नसकिएको बताउनुभयो ।
प्रतिष्ठानमा नयाँ नियुक्ति भएर आउनुभएका पदाधिकारीको कार्यकाल आज एक वर्ष पुगेको अवसरमा कार्यप्रगति सार्वजनकि गरिएको हो ।
यस्ता छन् एक वर्षे उपलब्धि
एक वर्षे उपलब्धिहरु सार्वजनिकीकरणका क्रममा प्रतिष्ठानले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कर्मचारी (प्रशासन) नियमावली २०८० निर्माण कार्य अघि बढाइएको, प्रतिष्ठानको कार्य सञ्चालन निर्देशिका अन्तिम चरणमा पुगेको, कलाकार परिचयपत्र वितरण कार्यविधि २०७४ संसोधनको अन्तिम चरणमा पुर्याईएको जानकारी गराएको छ ।
प्रतिष्ठानको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने कार्य अघि बढाइएको र हल निर्माणको पहल जारी रहेको जनाइएको छ ।
यस्तै निर्देशन तथा अभिनयसम्बन्धी, लाइट तथा साउण्डसम्बन्धी प्रशिक्षण तथा कार्यशाला एवं साँस्कृतिक नाटक “गुनकेशरी” निर्माण गरी मञ्चन गरिएको छ ।
यस्तै नेपाली लोक नाचको विगत र वर्तमान विषयक गोष्ठी, पँवरिया नृत्य सङ्गोष्ठी, मुकुण्डो नृत्य प्रतियोगिता, सारङ्गी र मादल प्रशिक्षण, मौलिक पञ्चेबाजा र खैँजडी प्रशिक्षण एवं गीत लेखकसम्बन्धी गोष्ठी पनि आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।
लोक सङ्गीत विभागद्धारा नेपाली लोक सङ्गीत हिजो र आजसम्बन्धी गोष्ठी, लोपोन्मुख असारे तथा दाईँ गीतसम्बन्धी गोष्ठी, वरिष्ठ लोक गायक हरिबहादुर राउतको अन्तरवार्तामा आधारित वृत्तचित्र, मौलिक ठेट गीतको स्वराङ्कन र छायांकनसमेत गरिएको प्रतिष्ठानले पत्रकार भेटघाटको आयोजना गरी जानकारी गराएको हो ।
यस्तै शास्त्रीय सङ्गीत उत्सव, पुन मगर समुदायमा प्रचलित पुख्र्याैली गीत सङ्गीत र ओखल्ढुङ्गाका राईको परम्परागत ‘दोलोकुम’ प्रस्तुत गरिएको थियो ।
वरिष्ठ गायक एबं सङ्गीतकार एलपी जोशी र शिवशंकरको जीवनी र साङ्गीतिक योगदानमा आधारित वृत्तचित्र निर्माण तथा काभ्रेमा साहदत प्राप्त कलाकारका बारेमा वृत्तचित्र निर्माण जारी रहेको जनाइएको छ ।
सार्वजनिक विवरण अनुसार विभिन्न संस्थाहरुको सहकार्यमा कोशी प्रदेशको रैथाने सङ्गीतसम्बन्धी, नेपालको प्रगतिशील नाटक, कोशी तथा सुदुरपश्चिम प्रदेशका लोक तथा परम्परागत नृत्यसम्बन्धी खोज अनुसन्धान जारी रहेको कुलपति शर्माले बताउनुभयो ।
उहाँका अनुसार रङ्गमञ्च दिवस, विश्व नृत्य दिवस, नेपाली नाटकसम्बन्धी अन्तरराष्ट्रिय सेमिनार, पालिका प्रतिभा गायन, नाट्य कार्यशाला, कथक नृत्य, सम्झनामा बालकृष्ण सम, नाट्य, सङ्गीतसम्बन्धी विचार गोष्ठी, विद्यालयस्तरीय नाटक प्रतियोगिता, रङ्गमञ्चमा बाल प्रतिभाको खोजीलगायतका कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानले जानकारी गराएको छ । यस्तै विभिन्न ६ वटाभन्दा बढी जर्नल, पुस्तक तथा शोधमुलक पुस्तकहरु प्रकाशित गरिएको जनाइएको छ ।
बजेट अभावमा गर्न नसकिएको काम
कुलपति शर्माले गएको एक वर्षमा गर्ने धेरै योजना हुँदाहुँदै पनि काम गर्न नसकिएको बताउनुभयो ।
प्रतिष्ठानले प्रदेशस्तरीय नाट्य महोत्सव, संगीत नाट्य र नृत्यको अध्ययन अनुसन्धान, अन्तरराष्ट्रिय सम्मेलन र कार्यशाला, राष्ट्रिय साँस्कृतिक मेला, राष्ट्रियताप्रति ओतप्रोत हुने नाटक मञ्चन, सङ्गीत नाट्य प्रशिक्षण, त्रिदेशीय नाट्य महोत्सव, लोकगीत सम्मेलन, दोहोरी र जुहारी गीत सम्मेलन, नौमती बाजा अध्ययन, सङ्गीतको सैद्धान्तिक कार्यशालालगायतका कार्यक्रम आयोजना गर्ने गरी योजना पेश गरिएको तर बजेटमा भारी कटौती हुँदा खुम्चिनु परेको कुलपति शर्माले सुनाउनुभयो ।
उहाँका अनुसार कुल १५ करोड ३५ लाखको बजेट पेश गरिएकोमा जम्मा ५ करोड ४६ लाख मात्रै आएको र त्यो पनि प्रशासनिक बजेट धेरै भएकाले कार्यक्रम बजेट जम्मा ९० लाख मात्रै रहेको थियो ।
उहाँले आगामी वर्षका लागि १८ करोडभन्दा बढी आवश्यक रहेको भन्दै कार्ययोजना पेश गरिएको र आवश्यक बजेट विनियोजन भए सङ्गीत र नाट्य प्रज्ञा प्रतिष्ठानलाई चलायमान बनाउन सकिने बताउनुभयो ।
प्रतिष्ठानका उपकुलपति शम्भु राईले मुलुकको सँस्कृति र साँस्कृतिक विषयलाई राज्यले नबुझेसम्म रुपान्तरण सम्भव नहुने बताउनुभयो । उपकुलपति राईले यसपटक परम्परागत कामलाई निरन्तरता दिने मात्रै होईन केही नयाँ काम गरौँ भन्ने सोच हुँदाहुँदै बजेट नआउँदा सम्भव नभएको बताउनुभयो ।
प्रतिष्ठानकी सदस्य सचिव कुस्मा महराले गएको एक वर्षमा प्रतिष्ठानले गरेका कार्यप्रगति सार्वजनिक गर्दै बजेटको परिधिमा रहेर विभिन्न संघसंस्थासँगको सहकार्यमा सङ्गीत तथा नाट्य क्षेत्रको विकासका लागि कार्यक्रम गरिएको बताउनुभयो ।
नयाँ नियुक्ति लिएर आएकाले कामै गरेनन् भन्नेहरुलाई कुलपति शर्माको यस्तो छ जवाफ