काठमाडौँ । दक्षिण कोरियाको संखेल युनिभर्सीटीका चिकित्सकसहितको टोलीले विद्यार्थी र अपाङ्गता भएका व्यक्तिहरुका लागि स्टेशनरी, मल्टी भिटामिन तथा बालबालिका एवं विद्यार्थीहरुका लागि आवश्यक लजिष्टिक सामग्रीहरु सहयोग गरेको हो ।
उक्त युनिभर्सिटीका प्राध्यापकसहतिको टोली नेपालमै आएर झण्डै ७ लाख ५० हजारभन्दा बढीको सामान सहयोग गरेको छ ।
उक्त कार्यक्रम कोरिया सोसियल कन्ट्रिव्यूसन फेड्रेसन र ईन्टरनेशनल कोअपरेशन एण्ड डेभलभमेन्ट एसोसिएसनको आयोजनामा भएको थियो ।

विश्वविद्यालयका प्राध्यापक डा किम योङ फेको नेतृत्वमा आएको ६ सदस्यीय टोलीले काठमाडौँको रानीवनस्थित शितला माध्यामिक विद्यालयका २०० बढी विद्यार्थीका लागि स्टेशनरी तथा लजिष्टिक र मल्टीभिटामिनहरु सहयोग गरेको हो भने अपांगताको क्षेत्रमा काम गर्दै आएको परिलक्षित संस्थालाई पनि नगदसहित मल्टी भिटामिनहरु सहयोग गरेको छ ।
टोलीले आउँदो मार्चमा उक्त स्कुलमा २ वटा प्रोजेक्टर पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

अपांगताको क्षेत्रमा काम गर्ने परिलक्षित संस्था (फरवार्ड) लाई अपांगता भएका व्यक्तिहरुको सहज जीवनयापनमा सहयोग पुग्ने उद्देश्यले नगदसहित मल्टिीभिटामिन सहयोग गरिएको थियो ।
उक्त सँस्थाले यस्ता विकासोन्मुख तथा कम विकसित मुलुकहरु मंगोलिया, भियतनाम, कम्बोडियामा यसअघि सहयोग गरेको र नेपालमा भने पहिलो पटक सहयोग गरेको हो ।
उसले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, महिला बालिबालिका, अपांगता भएका क्षेत्रमा सहयोग गर्दै आएको छ । सोही शिलशिलामा नेपालमा पनि सहयोग गरेको हो ।

पहिलो पटक सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै आउँदो दिनमा पनि सहयोगलाई निरन्तरता दिने उक्त टोलीको नेतृत्व गरेर आउनुभएका विश्वविद्यालयका प्राध्यापक डा किम योङ फेले जानकारी दिनुभयो ।
उहाँहरुलाई नेपालसम्म ल्याउन उक्त आयोजक सँस्थाकाे दक्षिण एसिया हेर्ने नेपालकी समेत प्रतिनिधि डा मनुमायाँ भट्टराईको योगदान रहेको छ ।

उहाँले कोरियाबाट आएको टोलीले नेपालमा बालिबालिका, विद्यार्थी र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्न इच्छुक देखिएपछि यसपटक आफैँ आएर एउटा स्कुल र संस्थालाई सहयोग गरेको बताउनुभयो ।
उहाँहरु आफ्नै आँखाले हेरेर अनुभव लिई सहयोग गर्ने इच्छुक भएर नेपाल आउनुभएको डा भट्टराईले बताउनुभयो ।

महिला शशक्तिकरण अभियानकी अध्यक्ष संगिता भट्टराईले उहाँहरुले स्वास्थ्य, शिक्षा, बालबालिका तथा लक्षित समुदायमा दिएको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो ।
अन्य क्षेत्रमा पनि सहयोग जरुरी रहेकाले उहाँहरुले सहयोग जारी राख्ने अपेक्षा अफूले गरेको उहाँले बताउनुभयो ।
