काठमाडौँ । ललितपुरको इमाडोलमा छोरा र छोरीको मृत्यु भएको केही घण्टापछि घरको चार तलाबाट हाम्फालेकी आमा ३६ वर्षीया रविना महर्जनको समेत गएराती मृत्यु भयो ।
उक्त घटनाको प्रारम्भिक अनुसन्धानमा छोराछोरीलाई पहिले कुनै चिजले सास थुनेर हत्या गरी महर्जनले आत्महत्या गरेको देखिएको प्रहरीले अनुमान गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले घटना प्रकृति हेर्दा उनले नै घटना घटनाएर आफू घरको चार तलाबाट हाम्फालेर आत्महत्या गरेको देखिएको जानकारी दिँदै शवको पोष्टमार्टम रिपोर्टपछि मृत्युको यकिन कारण भन्न सकिने बताउनुभयो ।
उहाँले घटनाको कारणबारे सबै कोणबाट अनुसन्धान जारी रहेको बताउनुभयो । शनिबार २ बजेतीरको उक्त घटना हो ।
महर्जन घरको चार तलाबाट हाम्फालिन। छिमेकीहरुले देखेपछि तत्काल प्रहरीलाई खबर गरी उपचारका लागि अस्तताल लगियो । घर भित्र जाँदा दुई बालबालिका अचेत भेटिए । उनीहरुलाई पनि अस्पताल लगियो ।
६ वर्षीय बालक र दुई वर्षीया बालिका (महर्जनका छोराछोरी) को शनिवार साँझ ५:२५ बजे चिकित्सकले मृत घोषणा गरे । छोराछोरीको मृत्यु हुँदा महर्जनको अचेत र गम्भिर अवस्थामा अस्पतालमा उपचार जारी थियो । राती ९ : ३५ बजेको समयमा उनको पनि मृत्यु भयो।
अहिले शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्तपालमा पठाइएको छ । अनुसन्धानमा सहभागी एक प्रहरी अधिकृतले तकियाले बालबालिकाको मुख थुनेर हत्या गरी उनले आत्महत्या गरेको देखिएको बताउनुभएको छ ।
फरेन्सिक ल्यावका चिकित्सकले पनि बच्चाको सास रोकिएर नै ज्यान गएको बताएका ती अनुसन्धान अधिकृतले बताउनुभयो । उहाँले भन्नुभयो, “तर रिपोर्ट नआई हामीले यकिनका साथ भन्न सक्दैनौँ ।”
हाम्फाल्ने क्रममा सासु पनि छतमै थिइन्
घटना हुँदा महर्जनकी सासु छतको अर्को कुनामा थिइन् । उनी अली विरामी भएकाले धेरै हिँडडुल गर्न सक्दिनथिन्। जब छतबाट रविना बार चढ्न लागेकी थिइन्। सासुले किन त्यहाँ गएको भनेर सोधिन्, उनले कपडा झरेछ लिन जान लागेको भनेर जवाफ दिइन् ।
“जान हुँदैन भन्दाभन्दै बार चढेर गएकी थिइन्, हाम्फाल्न पो रहेछ”, सासुको कुरा उद्यृत गर्दै ती अनुसन्धान अधिकृतले बताए। उनले यसअघि कोठामा ढोका बन्द रहेको र ढकढक गर्दा समेत नखोलेको प्रतिक्रिया समेत दिइकी बताइएको छ ।
उनका श्रीमानको आफ्नै साउण्ड सिष्टमको व्यवसाय छ । शनिवार महालक्ष्मी नगरपालिकाको कामको तयारीका लागि उनी गएका थिए । रविनासँग हाम्फाल्नु अघि उनीसँग थोरै कुराकानी भएको थियो ।
२ बजेतिर फोन गरेको कता हुनुहुन्छ भनेर श्रीमानलाई सोधेकी थिइन् । ३ बजे काम सकिन्छ, त्यसपछि आउँछु भन्ने जवाफ दिएर फोन राखेको श्रीमानले प्रहरीसँग बताएका छन् । त्यसपछि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।
प्रहरीले अहिलेसम्म उक्त घटना मिन घटाइन् भनेर खास कारण पत्ता लगाउन सकेको छैन । पारिवारिक बेमेल केही देखिएको छैन । कहिलेकाहीँ सामान्य झैझगडा भए पनि ठूलो रिसराग नदेखिएको प्रहरीले बताएको छ ।
धेरै नबोल्ने महिला भएकाले कुनै कुण्ठा पो थियो की भनेर त्यसतर्फ पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।