कामठाडौँ : काठमाडौँको भृकुटीमण्डपमा जारी २९औँ संस्करणको क्यान इन्फोटेकमा विद्यार्थीहरुको भीड देखिएको छ । स्टलहशरमा ठेलम्ठेल हुने गरी विद्यार्थीहरु सहभागी भएका छन् ।
अझ बिदाको दिनमा भीढ बढी हुने आयोजकले जनाएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान) को आयोजनामा माघ २५ देखि सुरु भएको इन्फोटेक यही माघ २९ गतेसम्म सञ्चालन हुनेछ।

मेलाको झण्डै तीन लाख ५० हजार व्यक्तिले अवलोकन गर्ने लक्ष लिइएको क्यान इन्फोटेकमा एक सय ५० भन्दा बढी स्टलहरु रहेकाछन् । मेलाको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गर्नुभएको थियो।
इन्फोटेकमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहेको जनाइएको छ ।
क्यान महासङ्घका अध्यक्ष रञ्जीतकुमार पोदारले सूचना प्रविधिसम्बन्धी नयाँ आविष्कारहरुबारे जानकारी दिन प्रदर्शनी गरिएको बताउनुभयो ।

क्यानका महासचिव चिरञ्जीवि अधिकारीले सूचना प्रविधिसम्बन्धीको प्रदर्शनीमा सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा देखिएका आधुनिक प्रविधि तथा सेवाबारे जानकारी लिन सकिने बताउनुभयो ।
प्रदर्शनीमा सूचना प्रविधिसम्बन्धी छलफल तथा गोष्ठी पनि आयोजना भइरहेको छ । यसपालिको यो प्रदर्शनी २९औँ संस्करणको हो । प्रदर्शनीमा सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ टिकेट शुल्क तोकिएको छ ।
यसपालि नेपालमै उत्पादित जेनेरेटिभ एआई सिष्टम ‘कान्छी’ रोबोटको बेटा संस्करण सार्वजनिक गरिएको छ । यसपटकको प्रदर्शनीमा स्टार्टअप विजनेशलाई स्टल निशुल्क दिइएको छ ।

२९औँ क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा एस पावर बीपीई प्रालि रहेको छ भने प्लाटिनम स्पोन्सरमा लर्डबुद्ध एजुकेशन फाउण्डेशन, डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरहरूमा इन्फो डेभलपर्स र मर्कन्टाइल अफिस सिष्टम प्रालि रहेका छन् ।
यस्तै सिल्भर स्पोन्सरहरूमा अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी), इन्सेसेन्ट रेन प्रालि, हिमकमरएनटेक र पीएनवई रहेका छन् ।
प्रदर्शनीको टिकेटिङ पार्टनरमा ईसेवा प्रालि, इन्टरनेट पार्टनरमा डिस मिडिया प्रालि, इन्नोभेसन पार्टनरमा ए८रेस ग्राफ नेपाल प्रालि, इन्स्यारेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स प्रालि, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस प्रालि, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, एजुकेशन पार्टनमा पाटन कलेज फर प्रोफेशनल स्टडिज ९पीसीपीएस कलेज० रहेका छन् ।

प्रदर्शनीलाई सफल रुपमा आयोजना हुन देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुबिसु लगायतका संस्थाले सहयोग गरेका छन् ।
साथै एनपीसर्ट र सीएसआरआईको पहलमा साइबर सेक्युरिटी हेल्प डेस्कसमेत सञ्चालन गरिने क्यान महासंघले जनाएको छ ।
