चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा यही माघ २८ गतेदेखि सुरु हुने ‘१८औँ सौराहा फूड फेस्टिभल’को तयारी अन्तिम चरणमा पुगेको छ । यतीखेर सौराहा झकिझकाउ पनि भइसकेको छ ।
रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (क्षेत्रीय रेवान) सौराहा चितवनको आयोजनामा माघ २८ देखि फागुन ३ गतेसम्म सौराहाको बसपार्क रोडको आडैमा फुड फेस्टिभल हुँदैछ। यो ठउँ यसपालि नयाँ हो।
सौराहासहित चितवनको पर्यटन विकासका लागि प्रेम दिवसको अवसर पारेर फेस्टिभल आयोजना गरिएको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो । खाना, संगीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर फेस्टिभललाई विशेष बनाउने तयारी गरिएको छ।
सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरी फेस्टिभलका गतिविधिलाई अगाडि बढाइएको सौराहा फुड फेस्टिभलका संयोजक सूर्यबहादुर रिमालले बताए। यसपाली अझै खास बनाउन खोजिएको उनले बताए।
समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातिका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासँस्कृति, भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पहिचान गराउने उद्देश्य रहेको छ । उज्यालो सौराहालाई निरन्तरता दिइने, प्रवेश टिकटबाट भएको आम्दानीले सौराहा पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्य पनि छ।
पाँच दिनसम्म चल्ने फेस्टिभलमा बहु जातजातिहरुको झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकार तथा दि एक्सीस ब्याण्डको सांगीतिक प्रस्तुति, स्थानीय जनजातिका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर तथा वेट्रेस बीच प्रतियोगिता, प्रणय दिवस विशेष कार्यक्रम, डोरी तान्ने प्रतियोगिता, रेवान कप पालिकास्तरीय भलिबल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता, सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजाको प्रस्तुति रहने छ।
रेवानका महासचिव एवं कलाकार व्यवस्थापन समितिका संयोजक नविन नेपालले यसपाली उत्कृष्ट र नाम चलेका कलाकारहरुको बेजोड प्रस्तुति रहने जानकारी दिए।
उनका अनुसार फेस्टिभलमा मेलिना राई, मिलन रेवार, रामेशराज भट्टराई, साहिमा श्रेष्ठ, खेम सेन्चुरी, पशुपति शर्मा, कुलेन्द्र विश्वकर्मा, आर्जुन सापकोटा, प्रिती आले, सम्झना भण्डारी, सम्झना लामिछाने मगर, शान्तिश्री परियार र चर्चित हास्य कलाकार पूर्खे बा को प्रस्तुति रहने छ । यस्तै सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजा पनि सहभागी हुँदैछ ।
तस्वीरमा हेरौँ






भिडियो
https://www.facebook.com/100009630078501/videos/pcb.2190541347943513/931403584746629