काठमाडौँ । प्रहरीमैत्री अवधारणालाई आक्रामक रुपमा अघि बढाएको उपत्यका प्रहरीले काठमाडौँको बूढानिलकण्ठ क्षेत्रलाई पनि अब प्रत्यक्ष निगरानी गर्न थालेको छ ।
काठमाडौँको बूढानीलकण्ठको विभिन्न सडक क्षेत्रमा एआईमा आधारित १८१ वटा सिसी क्याममरा जडान गरिएसँगै अब सो क्षेत्रका गतिविधि उपत्यका प्रहरीको नियन्त्रण कक्षबाट प्रत्यक्षरुपमा निगरानी गर्न थालिएको हो ।
‘सुरक्षित काठमाडौँ उपत्यका : हाम्रो प्रतिबद्धता’भन्ने अभियानलाई साकार पार्न काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र बूढानीलकण्ठ नगरपालिकाको संयुक्त प्रयासमा उक्त सिसी क्यामरा जडान कार्य सम्पन्न गरी आज उद्घाटन समेत गरिएको छ ।

गत वैशाख १२ गते बूढानीलकण्ठ नगरपालिकाको पाँच करोडमा सम्झौता भइ सिसी क्यामरा जडान शुरु भएकोमा आज कार्य सम्पन्न गरी उपत्यका प्रहरीले निगरानी गर्नसमेत थालिसकेको काठमाडौँ उपत्यका प्रहरी कार्यापयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
सार्वजनिक खरिद ऐन, २०६३ र खरिद नियमावली, २०६४ बोजिम टेण्डर आह्वान भई जडान गरिएका सिसिटिभी क्यामेराको आज एक समारोहका बीच समुद्घाटन गरिएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा र बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले संयुक्त रुपमा सिसी क्यामेराको उद्घाटन गर्नुभयो ।
सुरक्षित काठमाडौँ योजनाअन्तर्गत बूढानीलकण्ठ रुट, मानबहादुर मार्ग–चुनिखेल रुट र कपन रुटका ७९ स्थानमा ७ पिटीजेडसहित १७४ स्थायी सिसीटिभी क्यामेरा गरी जम्मा १८१ थान आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)मा आधारित सिसीटिभी क्यामेराहरु जडान गरिएको प्रवक्ता मैनालीले बताउनुभयो ।

उक्त समारोहमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले बूढानीलकण्ठ क्षेत्रमा शान्ति, सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न काठमाडाँै उपत्यका प्रहरी कार्यालयसँग हातेमालो गर्दै जाने बताउनु भयो । प्रथम चरणको सिसीटिभी जडान कार्यक्रम सकिएको र अब पुनः दोस्रो चरणमा समेत सहयोग उपलव्ध गराइने उहाँले जानकारी गराउनु भयो ।
समारोहमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक थापाले ‘सुरक्षित काठमाडौँ उपत्यका : हाम्रो प्रतिबद्धता’ अभियानलाई साकार पार्न प्रविधिमैत्री प्रहरीको अवधारणाबमोजिम बूढानीलकण्ठ इलाकामा जडित सिसीटिभी क्यामेराले उक्त इलाकामा शान्ति, सुरक्षाका साथै समग्रमा काठमाडौँ उपत्यकाको आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले आउँदा दिनमा समेत उक्त नगरपालिकासँग सहकार्य गर्दै जाने बताउनुभयो। कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका उप–प्रमुख अनिता लामा, प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह, प्रहरी वरिष्ठ उपरीक्षकहरु, वडा अध्यक्षहरुलगायतको सहभागिता थियो।