काठमाडौँ । दुई दिन खुलेको मौसम आज रातीबाटै पुन बदली हुने भएको छ । भोलि विहानदैदेखि देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।
उहाँले पश्चिमी वायुको प्रभावले अहिले सुदुरपश्चिमबाट बादल प्रवेश गरिसकेको जानकारी गराउँदै अब रातीबाटै बदली हुने बताउनुभयो । यसअघि शुक्रबार अघि बदली रहेको मौसम आज शनिबार खुलेको थियो।
उहाँका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पनि जनाइएको छ ।
आइतबार राति देशभर आंशिकदेखि साधारणतया बदली कायम नै रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूका हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ।
सोमबारबाट भने क्रमश खुल्ने देखिएको पनि लामिछानेले बताउनुभयो । सोमबार कोशी प्रदेशलगायत देशको बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरू साथै बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ।