काठमाडौँ : काठमाडौँको रत्नराज्य माध्यामिक विद्यालय मध्येबानेश्वरका कसिस गिरी, रक्षा चेम्जोङ सञ्चु राई र सुशील आचार्यले पिपलका पात, डाँठ, फल खोजेर ल्याए । कागजका टुक्रा र केही सिन्काहरु पनि बटुले । त्यसलाई आकार दिन थाले ।
आफ्नो पहिलो अभ्यासमै उनीहरुले एउटा सुन्दर र सफा गाउँ परिकल्पना गरे । त्यस गाउँको वातावरण र रहसनहनको कोलाज तयार पारे । व्यवसायिक कलाकारले बनाएको सुन्दर आर्ट भन्दा फरक बनेन उनीहरुका सिर्जना ।
पिपलका हाँगा पात र फललाई आकारमा ढालेर उनीहरुले पिपलको रुख नै बनाइदिए । कागजका टुक्रामा रङ भरेर सुन्दर पहाड उतारे । सिन्काहरु जेडेर घर र छाना बनाइदिए । अनि त्यसमा रङहरु लिपेर एउटा बस्ती नै तयार पारे ।
उनीहरुले बनाएको सिर्जनामा एउटा सुन्दर बस्ती छ । जहाँ बीचमा सडक छ, छेउछाउमा घरहरु छन् । सडकमा मानिसहरु आवतजावत गरिरहेका छन् । छेवैमा पिपलको छहारी छ । गाडी पनि हिँडिरहेका । एक कुनामा विद्यार्थीहरु पठकपाठन वा कुनै छलफलमा रमाइरहेका देखिन्छन् । माथि निलो आकासमा चराहरु स्वच्छन्द रुपमा उडिरहेका छन् भने छेउछाउमा हरियाली पहाडले त्यो बस्तीको सुन्दरतामा सुगन्ध थपिदिएको छ ।

झट्ट हेर्दा त्यो कोलाज नभएर सुन्दर पेन्टिङ हो । कोलाजमा उनीहरुले आफ्नो कला प्रस्तुत गरेका छन् । केही महिनाको सिकाईमै कागजमा सुन्दर सिर्जना भरेका उनीहरु यसरी कला देखाउन पाउँदा निक्कै खुसी भएको सामुहिक रुपमा बताए ।
त्यसका साथै उनीहरुले स्केच, पेन्सिल आर्टहरु पनि आकर्षक बनाएका छन् भने अब माटो कला (माटोबाट बनाउने कला) सिक्दैछन् ।
शुक्रबार विद्यालय पुग्दा नजिकै बेञ्चमा रहेका अन्य विद्यार्थीहरु पनि यसैगरी कला सिर्जनामा तल्लिन थिए। उनीहरुलाई सोनी राईलगायत उहाँको समूहले आर्ट सिकाइरहनु भएको थियो ।
शिक्षा र सीप कार्यक्रमअन्तरगत काठमाडौँ महानगरपालिका र नेपाल लतिकला प्रज्ञा प्रतिष्ठानको संयुक्त प्रयासमा विद्यार्थीहरुले कोर्सबुक बाहेक पनि यसरी नयाँ सीपहरु सिकिरहेका छन् ।

यो सिप सिकाइ कार्यक्रम रत्नराज्य स्कुलमा मात्रै होइन महानगरभित्रमा विश्व निकेतन मावि, ज्ञानोदय मावि, तरुन मावि, गीतामाता मावि, कन्या मन्दिर मावि, शहिद शुक्र मावि, पद्मकन्या मावि, कोटेश्वर सरस्वती माविमा जारी छ ।
ती ९ वटा स्कुलमा १९ समूहमा विभाजन गरी ५७० विद्यार्थीले यसरी कला सिर्जनाको सीप सिकिरहेका छन् । उनीहरुलाई हरेक शुक्रबार आर्ट सिकाइन्छ । विद्यार्थीले स्केच, पोष्टर कलर, पेन्सिल कलर सिकिसकेका छन् । अब माटो कलाको आधारभूत ज्ञान सिक्दैछन् ।
प्रशिक्षक सोनी राई भन्नुहुन्छ, “अब कक्षा सकिएपछि भविश्यमा आर्टिष्ट बन्न चाहनेका लागि बाटो खुला हुन्छ, भविश्य आर्टमा खोज्न सक्छन्, यदी भएन भने जुनसुकै फिल्डमा जाँदा पनि आर्ट महत्वपूर्ण हुन्छ, जस्तै फेसन डिजाइनमै जाँदा पनि कलर मिलाउन जान्नुहुन्छ, यस्तै अन्य क्षेत्रमा पनि आर्ट मिसाउन सक्नुहुन्छ र आफ्नो कार्यलाई उत्कृष्ट बनाउन सक्नुहुन्छ ।”
रत्नराज्य मावि बानेश्वरका ९ र १० का इछुक विद्यार्थी पहिलो पटक आर्ट कक्षामा सहभागि हुन पाउँदा निक्कै खुसी देखिए । पहिलो पटक कला सिर्जनामा सहभागी विद्यार्थी शिखा केसी र विविशा निरौलाले नियमित कक्षाका साथै कलासम्बन्धी नयाँ सीप सिक्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक कला (बहुआयामिक कला) विभागकी प्रमुख सौरगङ्गा दर्शनधारी महानगरको शिक्षा र सीप कार्यक्रमअन्तरगतको यो नयाँ सिकाई भएको बताउनुभयो । उहाँले नै कार्यक्रमको संयोजन र समन्वय गरिरहनुभएको छ । विद्यालयतहबाटै कला सिकाउनु पर्छ भन्ने प्रतिष्ठानको उद्देश्य रहेको सुनाउँदै उहाँले यसलाई एउटा छुट्टै कोर्सको रुपमा लैजान आवश्यक भएको बताउनुभयो ।

गत असोजमै काठमाडौँ महानगर र ललितकला प्रज्ञा प्रतिष्ठानबीच सम्झौता भएर यो कार्यक्रम शुरु भएको हो । “यो कर्याक्रमले आर्टलाई तल्लो तहबाटै जानकारी दिनुपर्छ भन्ने हाम्रो उद्देश्य महानगरले पुरा गरिदिएको छ, विद्यार्थीहरु कला सिर्जना गर्न पाएकामा खुसी र उत्साहित देखिएका छन्, यसले भविश्यमा उनीहरुलाई बाटो देखाउन सहज हुने छ भन्ने विश्वास छ”, दर्शनधारीले भन्नुभयो ।
अहिलेको यो ९० घण्टाको कार्यक्रम हो । यसमा ५७० जना विद्यार्थीहरु सहभागी भएका छन् । अन्तिममा विद्यार्थीहरुले गरेका कामको प्रदर्शनी समेत गरिने तयारी छ ।
उहाँले थप्नुभयो, ”विगतमा विद्यार्थीको उद्देश्य डाक्टर, पाइलट, ईन्जिनियर बन्ने भन्ने हुन्थ्यो, यो कार्यक्रमले आर्टिष्ट बन्छु भने उद्देश्य राख्ने पनि हुनुभएको छ । यो खुसीको कुरा हो । यदी डाक्टर, पाइलट बने पनि कला भनेको त्यो क्षेत्रमा पनि अति आवश्यक कुरा हो, जहाँ पनि काम लाग्छ ।“
रत्नराज्य क्याम्पसका सहायक प्रधानाध्यापक दुर्गाप्रसाद भट्ट पाँच दिन नियमित कक्षामा सहभागि भएर एक दिन नयाँ खालको कार्यक्रममा सहभागि हुँदा विद्यार्थीहरुमा बढी उत्साह थपिएको महसुस गरेको बताउनुभयो । यस्तो सीप विद्यालयमा अति आवश्यक भएको उहाँले बताउनुभयो ।
कक्षा ९ र १० का इच्छुक विद्यार्थीहरु सहभागी उक्त सिकाइले उनीहरुमा सीपको विकाससँगै रिफ्रेस महसुस गरेको आफूले पाएको उहाँले बताउनुभयो ।
https://www.facebook.com/samriddhisanchar/videos/406645825060396