काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) लामो अनुसन्धान पछि मात्रै बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमाथि मुद्दा अघि बढाइएको स्पष्ट पारेको छ ।
सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यले लामो अनुसन्धानपछि संलग्न रहेको देखिएका तीन जना आरोपीलाई पक्राउ गरी मुद्दा अघि बढाइएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पछिल्लो अबस्थामा प्रहरीले अनुसन्धान नगरिकन व्यवसायिक घरानालाई पक्राउ गरियो भन्ने कुराहरु आएको छ, यो लामो समयको अनुसन्धान पछि नै पक्राउ गरिएको हो ।”
उहाँले आजको पत्रकार सम्मलेनमा त्यसबेला सरकारको निर्णय नभई यो जग्गालाई एक जना अध्यक्षले एकल निर्णय गरेर कुनै कम्पनीको नाममा शेयरको रुपमा दिएर पछि प्रालिमा कन्भर्ट गरेको पाइएको बताउनुभयो ।
उक्त १० रोपनी जग्गा मिलेमतोमा ३६ लाखमा त्यही प्रालिमा लगेको देखिएकाले मुलुकी ऐनको किर्ते र ठगीमा कारबाही अघि बढाइएको आचार्यले बताउनुभयो । उहाँले उक्त जग्गामा तीन महिना बढीको अनुसन्धान गरिएको पनि जानकारी दिनुभयो ।
प्रहरीका अनुसार मालपोत कार्यालय डिल्लीबजारको २०३७ कात्तिक २० गतेको निर्णयले बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको नाममा श्रेस्ता कायम भएको काठमाडौँको साविक नगर २२ (छ) कि.नं. ५० को १८–३–२–०जग्गा तत्कालिन श्री ५ को सरकारको निर्णय बिना सञ्चालक समितिलाई समेत कारखानाको नाममा श्रेस्ता कायम भएको जग्गा बेचबिखन गर्ने कुनै अधिकार थिएन ।
तर कानून विपरित सञ्चालक समितिले आफूलाई फाईदा र नेपाल सरकार (तत्कालिन श्री ५ सरकार)लाई हानी नोक्सानी गर्ने उद्देश्यले २०४३ साल भदौ १० गते बाँसबारी छाला जुत्ता कारखानाको तर्फबाट कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापाले व्यवसायी अरुण चौधरीसमेत सञ्चालक रहेको च्याम्पियन फुटवयेर लिमिटेड नामक कम्पनी खडा गरेको पाइएको एसएसपी आचार्यले बताउनुभयो ।
उक्त कम्पनीको जारी पँुजी ५० लाखको २५ प्रतिशत शेयर लिने गरी क्यानभास जुत्ता उत्पादन गर्ने भनी कारखानाको नाममा श्रेस्ता कायम रहेको काठमाडौँको साविक नगर २२ (छ) कि.न. ५० को १८–३–२–० जग्गामध्येको १० रोपनी जग्गाको हक हस्तान्तरण गरेको पाइएको सिआइबीले जनाएको छ ।
उक्त च्याम्पियन फुटवयेर लिमिटेडको जारी पुँजी ५० लाख रहेकोमा सो पुँजीको २५ प्रतिशत शेयर लिने गरी तत्कालिन सञ्चालक समितिले निर्णय गरेको, सम्झौता बमोजिम रु १२ लाख पचास हजार लगानी गर्नु पर्नेमा २६ लाख २७८ रुपैयाँ लगानी गरी तत्कालिन श्री ५ को सरकारलाई हानी नोक्सानी पुर्याई आफूहरुले आर्थिक लाभ लिएको पनि सिआइबीले दावी गरेको छ ।
उक्त विषयमा साविक मुलुकी ऐन २०२० को किर्ते कागज र ठगीको महललाई निरन्तरता दिएको मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ र २७६ बमोजिमको कसुरमा अनुसन्धानको लागि उनीहरुलाई पक्राउ गरिएको सिआइबीले जानकारी गराएको छ ।
उक्त प्रकरणमा काठमाडौँ महानगरपालिका ९ बस्ने तत्कालिन बाँसवारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष ८० वर्षका अजितनारायण सिंह थापा काठमाडौँ २६ का तत्कालिन च्याम्पियन फुटवयेर लिमिटेड (पछि प्रालि बनाइएको ) का शेयर धनी तथा सञ्चालक ६० वर्षका अरुणकुमार चौधरीलाई पक्राउ गरी चार दिनेका म्याद थपेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
सोही प्रक्रियामा महोत्तरी घर भएका च्याम्पियन फुटवेयर प्रालि तथा सिजी चाँदवाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको सिआइबीले जनाएको छ ।