काठमाडौँ । खर्बपति विनोद चौधरीका भाइ अरुण चौधरी बाँसबारी छालाजुत्ता जग्गा घोटाला काण्डमा पक्राउ परेका छन्।
नेपाली कांग्रेसका सांसद विनोदका भाइ अरुण चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले निवासबाटै गिरफ्तार गरेको हो । आज अदालतमा पेश गरिएका उनीमाथि अनुसन्धान गर्न ४ दिनको म्याद दिइएको छ।
दाइ विनोद चौधरीलाई सत्ता र शक्तिमा बसेर नीतिगत निर्णय गराउन लाग्ने गरेको आरोप लाग्दै आएको छ। उनै विनोदका भाइ अरुण सरकारी जग्गा हडपेको आरोपमा बिहीवार पक्राउ परे।
अरुण आफूलाई पक्राउ गर्न निवासमा पुगेको सीआइबीको टोलीलाई ४५ मिनेट कुराएर आफ्नै ल्याण्डक्रुजर गाडीमा सीआइबीको कार्यालय पुगेका थिए। बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा लामो समयको अनुसन्धानपछि सीआइबीले अरुणसहित तीन जनालाई पक्राउ गरेको हो।
चौधरी ग्रुपका अरुणसँगै छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक समितिका अध्यक्ष अजित नारायणसिंह थापा र आम्रपाली कन्स्ट्रक्सनका सञ्जय ठाकुर पक्राउ परेका सीआइबीले जनाएको छ।
ठाकुरमाथि भने अनुसन्धान जारी नै रहेकाले अदालती प्रक्रिया बाँकी रहेको प्रहरीले जनाएको छ। चौधरीको द चाँदवाग स्कुलले १० रोपनी जग्गा हडपेको र त्यसमा तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका प्रमुख अजित नारायण सिंह थापाको मिलेमतो रहेको आरोप छ। उनीहरू विरुद्ध किर्ते, ठगी र सरकारी सम्पत्ति हिनामिनामा मुद्दा चलाउने तयारी सीआइबीले गरेको छ।
उद्योगी चौधरीको रेकी गर्न सीआइबीको टोली बिहानै लाजिम्पाटस्थित सिर्जना मार्गमा पुगेको थियो। जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी नभएका कारण सीआइबी प्रमुख एआइजी किरण बज्राचार्यले रेकी गर्न बिहानै एक टोली खटाएकी थिइन्।
कार्यालय खुल्नेवित्तिकै सीआइबीको अर्को टोलीले जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि मात्रै ब्यूरो प्रमुखले चौधरीलाई पक्राउ गर्न आदेश दिएकी थिइन। प्रहरी घरमा पुगेको थाहा पाएपछि उद्योगी चौधरीले आधा घण्टाभन्दा बढी कुराएका थिए। प्रहरीलाई करिब ४५ मिनेट कुराएपछि चौधरी निस्केर के थियो होला’ भनेर सोधेका थिए।
उनलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीले ब्यूरोमा गएर प्रमुखसँग कुरा गर्न आग्रह गरेपछि चौधरीले आफ्नै गाडीमा जान आग्रह गरेका थिए। प्रहरी अधिकृतसहित आफ्नै गाडीमा ब्यूरोमा पुगेका चौधरीले ब्यूरो प्रमुखको कार्यकक्षमा पुगेपछि ‘मेरो सबै कुरा सिद्ध्याइदिएको’ भनी प्रतिक्रिया दिएका थिए।
उनी अहिले हिरासत जानुको साटो उपचारका लागि भन्दै चिरायु अस्पतालमा गएका छन् ।
निजी क्षेत्र बचाउमा
सिजी होल्डिङ्सका अध्यक्ष चौधरी पक्राउ परेपछि उद्योगी व्यवसायीहरूको छाता सङ्गठन बचाउमा उत्रिएको छ। उद्योगी चौधरीलाई पक्राउ गरेको विरोधमा निजी क्षेत्रले बिहीबार नै पत्रकार सम्मेलन गरी दोषी जसरी पक्राउ गरिनु आपत्तिजनक रहेको बताएको छ।
यो घटनाले सरकारले आर्थिक समृद्धिमा निजी क्षेत्रको उपेक्षा गरेको हो कि भन्ने सोच्न बाध्य तुल्याएको निजी क्षेत्रले टिप्पणी गरेको छ। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगीलाई धरपकड गर्नु राम्रो नभएको तथा दोषी जसरी पक्राउ गर्नुपर्ने अवस्था नरहेको जिकिर गरे। उनले पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानुनी कारबाही अघि बढाउनुपर्ने जिकिर गरे।
इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालमा निजी क्षेत्रमाथि चौतर्फी आक्रमण भइरहेको भन्दै सरकारले निजी क्षेत्रलाई सँगसँगै लैजानुपर्ने तर्क गरे।
नाडाका उपाध्यक्ष निराकार श्रेष्ठले सरकारले बिना कारण धरपकड गरेर मानमर्दन गरेको आरोप लगाउँदै निजी क्षेत्रलाई नतर्साउन आग्रह गरे।