काठमाडौँ । काठमाडौँ लगायत देशका विभिन्न क्षेत्रमा आज वर्षा भएको छ । पश्चिमी बायुको प्रभावले वर्षा भएको हो । वर्षा ठूलो भने भएको छैन । यसले चिसो बढाएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले भोलिदेखि भने क्रमश मौसम खुल्दै जाने जनाएको छ ।
महाशाखाका मौसमविद् गोविन्द झाले आज रातीसम्मै पश्चिमी वायुको प्रभावले देशका विभिन्न क्षेत्रमा मौसम बदली भएको तर भोलिबाट भने खुल्दै जाने जानकारी दिनुभयो । आज रातीसम्मै बदली कायम रहने पनि उहाँले बताउनुभयो ।
आज काठमाडौँ उपत्यका लगायत विभिन्न क्षेत्रमा छिटफुट वर्षा भएको छ । मौसम बदलीसँगै वर्षा भएका कारण न्युनतम तापक्रम ५ डिग्री माथि हुँदा पनि आज काठमाडौँमा बढी चिसो महसुस गरिएको छ । केही दिन अघि उपत्यकाको तापक्रम २.१ डिग्रीसम्म झरेको थियो । उक्त मापन यो वर्षकै सबैभन्दा कम तापक्रम हो ।
विभागका मौसमविद् झाले पछिल्लो चौविस घण्टामा ठाउँठाउँमा हल्कादेखि मध्यम वर्षा भएको जानकारी दिनुभयो । उहाँका अनुसार उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको छ । पश्चिमदेखि काठमाडौँसम्मै मौसम बदली भएको छ भने कोसी प्रदेशका केही क्षेत्रमा छिटफुट वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।
उहाँका अनुसार आज डडेलधुरामा ३२.८ मिलिमिटर, कालिकोटमा २४.६, डोटी २३, दैलेख १५.४, अछाममा १९.८ मिडिमिटर वर्षा भएको छ ।
गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा भने ५ मिलिमिटरभन्दा कम वर्षा भएको छ । मधेश प्रदशेमा भने वर्षा भएन तर हुस्सु लागेको बताइएको छ ।