काठमाडौँ । कम्युटर एशोसिएसन अफ नेपाल (क्यान) महासंघले आयोजना गर्ने सूचना र प्रविधिसम्बन्धीको सबैभन्दा ठूलो प्रदर्शनी ‘क्यान इन्फोटेक २०२४’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
क्यान महासंघले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै माघ २५ देखि २९ गतेसम्म आयोजना गरिने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपमा हुने छ ।
क्यानका महासचिव चिरञ्जीवि अधिकारीले सूचना प्रविधिसम्बन्धीको प्रदर्शनीमा सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा देखिएका आधुनिक प्रविधि तथा सेवाबारे जानकारी गराइने बताउनुभयो ।
सो क्रममा सूचना प्रविधिसम्बन्धी छलफल तथा गोष्ठी पनि आयोजना हुने उहाँले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । यसपालिको यो प्रदर्शनी २९औँ संस्करणको हो । प्रदर्शनीमा सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ टिकेट शुल्क तोकिएको छ ।
यसपालि नेपालमै उत्पादित जेनेरेटिभ एआई सिष्टम ‘कान्छी’ रोबोटको बेटा संस्करण सार्वजनिक गरिने आयोजकले जानकारी गराएको छ । पत्रकार सम्मलेनमा क्यान महासंघका अध्यक्ष रञ्जितकुमार पोदारले सूचना प्रविधिका क्षेत्रमा आएका नयाँ प्रविधिका बारेमा जानकारी गराउन प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।
यसपटकको प्रदर्शनीमा स्टार्टअप विजनेशलाई स्टल निशुल्क दिइने र सबै गरेर झण्डै २०० बढी स्टल रहने जनाइएको छ ।
२९औँ क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा एस पावर बीपीई प्रालि रहेको छ भने प्लाटिनम स्पोन्सरमा लर्डबुद्ध एजुकेशन फाउण्डेशन, डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरहरूमा इन्फो डेभलपर्स र मर्कन्टाइल अफिस सिष्टम प्रालि रहेका छन् ।
यस्तै सिल्भर स्पोन्सरहरूमा अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी), इन्सेसेन्ट रेन प्रालि, हिमकमरएनटेक र पीएनवई रहेका छन् ।
प्रदर्शनीको टिकेटिङ पार्टनरमा ईसेवा प्रालि, इन्टरनेट पार्टनरमा डिस मिडिया प्रालि, इन्नोभेसन पार्टनरमा ए८रेस ग्राफ नेपाल प्रालि, इन्स्यारेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स प्रालि, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस प्रालि, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, एजुकेशन पार्टनमा पाटन कलेज फर प्रोफेशनल स्टडिज (पीसीपीएस कलेज) रहेका छन् ।
प्रदर्शनीलाई सफल रुपमा आयोजना हुन देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुबिसु लगायतका संस्थाले सहयोग गरेका छन् ।
साथै एनपीसर्ट र सीएसआरआईको पहलमा साइबर सेक्युरीटी हेल्प डेस्कसमेत सञ्चालन गरिने क्यान महासंघले जनाएको छ ।