सौराहा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान)को आयोजनामा यही माघ २८ देखि फाल्गुन ३ गते सम्म आयोजना हुने १८औँ सौराहा फुड फेष्टिभल २०८० यसपाली नयाँ स्थानमा हुने भएको छ ।
सौराहाको सबै क्षेत्रको केन्द्रविन्दु पारेर बसपार्क रोडको खुला स्थानमा फुड फेष्टिबल आयोजना गर्न लागिएको रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले बताउनुभयो । उहाँका अनुसार अहिले फुड फेष्टिभलको तयारी तिब्र भइरहेको छ ।

फुड फेष्टिभल सौराहाबाट बछौली चोक जाने बसपार्क सडकको छेउमा सञ्चालन हुने छ । अहिले मञ्च व्यवस्थापनको तयारी शुरु भएको छ । यसपालि नयाँ ठाउँमा मौलिक र भव्य बनाउने प्रयास भइरहेको अध्यक्ष गिरीले बताउनुभयो ।
फेष्टिभल संयोजक सूर्यबहादुर रिमालले यो पटक सबै कुराले खास बनाउन लागिएको उल्लेख गर्नुभयो । उहाँले सामान्य टिकटको व्यवस्थापन गरिए पनि टिकटबाट संकलित रकम कतै खर्च नगरी सौराहाको विकास तथा सौन्दर्यकरणमा खर्च गरिने बताउनुभयो ।

आज सौराहामा भएको आयोजक समितिको बैठकमा सहभागीहरूले झाँकी तथा सांस्कृतिक कार्यक्रक्रममा मौलिक विषयवस्तुसहित पस्किनका लागि विभिन्न क्षेत्र र समुदायका झाँकी तथा चितवनकै मौलिक साँस्कृतिक पहिचानलाई समेट्नुपर्नेमा जोड दिएका थिए ।
बैठकमा झाँकी व्यवस्थापन समितिका संयोजक सुवासचन्द्र गौतमले मौलिक बनाउने प्रयास स्वरुप नै अहिले पोखरालगायत विभिन्न जिल्लामा पुगेर आफूले देशका मौलिक तथा परम्परागत झाँकीहरु खोज्ने प्रयास गरिरहेको बताउनुभयो ।
उहाँले त्यस्ता मौलिक झाँकी तथा साँस्कृतिक पहिचानबारे ज्ञान भएमा जानकारी गराउन समेत सदस्यहरुलाई अनुरोध गर्नुभएको थियो ।
उहाँले पूर्वदेखि पश्चिमसम्मका नमूना र मौलिक झाँकीलाई समेट्ने प्रयासमा रेवान लागेको पनि बतायनुभयो । यसपालि सौराहामा हराउन लागेको थारुहको विवाहमा प्रयोग हुने सजाइएको गाडासहितको मौलिक संस्कृतिलाई समेत समेट्ने प्रयास गरिएको छ । गाडामा राखेर विहे गर्ने चलन हराउँदै गएकाले त्यसको पहिचान जोगाउने प्रयास रेवानको रहेको बताइएको छ ।

यस्तै यसपटक दर्शकले रुचाइएका कलाकारलाई समेत सहभागी गराएर सौराहामा आउने पर्यटकलाई पूर्ण मनोरञ्जन दिने तयारीमा रहेको जनाइएको छ । कलाकार व्यवस्थापन समितिका संयोजक नविन नेपालले दर्शकले रुचाइएका धेरै कलाकारहरुसँग कुराकानी भइरहेको र फेष्टिभल अवधिभर क्रमैसँग सहभागी गराएर भरपुर मनोरञ्जन प्रदान गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले चलेका कलाकारहरुसँग सम्झौता गर्ने चरणमा रहेको पनि बताउनुभयो । बैठकमा क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरीले सौराहा हात्ती तथा पर्यटन महोत्सवको अनुभव सुनाउँदै फुड फेष्टिभलका बारेमा आवश्यक सुझाव दिनुभएको थियो ।
कार्यक्रममा क्षेत्रीय रेवान सौराहाका पूर्वअध्यक्ष गोकर्ण गिरीले यसपाली सडक सजावटमा समेत मौलिकता दिने प्रयास गरिएको र समग्रतामा छुट्टै रौनक थपिने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार सडक क्षेत्रमा झुण्ड्याइएको डोकोसहित लाइट जडान गरेर झिलिमिली बनाइसकिएको छ । त्यसले अहिले सौराहाको शोभा बढाइदिएको छ ।
सम्भव भएसम्म सौराहाका सबै क्षेत्रमा लगाउने तयारी छ । ३५ वटा स्टल रहने फेष्टिभलमा ५० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ ।
यस्तो छ समिति
१, संयोजक : सूर्यप्रसाद रिमाल
२, सहसंयोजक : शम्भु प्रसाद माली
३, आर्थिक संयोजक : रामकुमार गुरौ
४, सचिवालय व्यव्यवस्थापन संयोजक : कृष्णप्रसाद खतिवडा
५, टेण्ट लाइट व्यव्यवस्थापन संयोजक : राजेशकुमार तामाङ
६, झाँकी व्यवस्थापन संयोजक : सुवासचन्द्र गौतम
७, कलाकार व्यवस्थापन संयोजक : नविन नेपाल
८, प्रचारप्रसार व्यवस्थापन संयोजक : राजकुमार श्रेष्ठ
९, सुरक्षा व्यवस्थापन संयोजक : धर्मराज न्यौपाने
१०, बजार सजावट संयोजक : देवकला भट्टराई
११, पाहुना सत्कार संयोजक : नरेश गिरी
१२, सरसफाइ व्यवस्थापन संयोजक : रामकाजी अधिकारी
१३, आवास व्यवस्थापन संयोजक : कुमार जोशी
१४, मञ्च व्यवस्थापन संयोजक : रेवान महिला समूह
१५, मायाको चिनो व्यवस्थापन संयोजक : पुरुषोत्तम लामिछाने
१६, अनुगमन व्यवस्थापन संयोजक : अम्बिका कँडेल भट्ट
१७, प्रतियोगिता व्यवस्थापन संयोजक : सुजन भट्ट
१८, प्राथमिक उपचार व्यवस्थापन संयोजक : राजेन्द्रप्रसाद खरेल
१९, फ्लेक्स छ्पाई तथा स्टल बूकिङ व्यवस्थापन संयोजक : शालिकराम रिजाल