काठमाडौँ । लागुऔषध मुद्दाका एक थुनुवाई भगाउन एक प्रहरीले एक करोडबाट डिल गरी ६ लाख २५ हजार रकम बुझेको पाइएको छ।
थुनुवालाई भगाएर १६ वर्षपछि पक्राउ परेका तत्कालिन प्रहरीले एक करोड मागेका र कुराकानी गर्दा १० लाखमा डिल भएको भए पनि ६ लाख २५ हजार लिएर थुनावालाई भगाएको खुलेको हो ।
घटना २०६४ साल जेठको हो । नयाँ बानेश्वरबाट पक्राउ भई लागुऔषध खैरो हेरोइन मुद्दाको अनुसन्धानका क्रममा काठमाडौँ प्रहरीको हिरासत कक्षमा रहेका भारतका असरफ आलमलाई सोही साल जेठ ९ गते राती प्रहरी जवान विरबल राय यादवले भगाएका थिए ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले उक्त घटनामा संलग्न रौतहको पथरावुधराम घर भई काठमाडौँ प्रहरीको हिरासत कक्षमा कार्यरत तत्कालिन प्रहरी जवान विरबल राय यादव त्यसपछि फरार थिए ।
उनलाई कार्यालयको विशेष अनुसन्धान टोलीले विहिवार जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा नेपाल भारत सिमानाको काकडभिट्टाबाट पक्राउ गरी काठमाडौँ ल्याएर अनुसन्धान थालिएको छ ।
अनुसन्धानका क्रममा उनले नक्कली चिट बनाई आफैँले फिल्ड अधिकृतको किर्ते दस्तखत समेत गरी इन्सपेक्टर सापले बोलाउनु भएको छ भनी हिरासत कक्षबाट हतकडी समेत लगाई बाहिर निकाली भगाई उनी फरार भएका रेग्मीले बताउनुभयो।
उनले ती व्यक्तिलाई प्रहरी निरीक्षक (फिल्ड अधिकृत)को किर्ते दस्तखत गरी प्रतिवादिलाई हिरासतबाट निकाली कालिमाटी–कलंकी–बुटवल हँुदै भारतको रक्सौल पुर्याएका थिए।
प्राप्त रकमले भारतको कोलकत्तामा दुई वटा ट्याक्सी खरिद गरी चलाउँदै आएकोमा अहिले उनीसँग नौ वटा ट्याक्सी रहेको खुलेको छ ।
उनले भारतको आधार कार्ड, भोटर कार्ड र ड्राईभिङ्ग लाईसेन्स समेत बनाएको भन्ने खुल्न आएको जनाइएको छ । उनी हाल भारतको कोलकत्तामा श्रीमतीसहित बसोबास गर्दै आएको पनि खुलेको छ ।
उनलाई मुलुकी अपराध संहिता २०७४ अनुसार कारबाहीका लागि शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ । परिसरले आवश्यक अनुसन्धान थालेको जनाएको छ ।