काठमाडौँ । सशस्त्र प्रहरीले संगठनको कार्य सम्पादनलाई अनुकरणीय योगदान पुर्याउने नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीलाई ‘महानिरीक्षक एपिएफ निशान पदक’ तथा सम्मान प्रदान गरेको छ ।
आज २३औँ सशस्त्र प्रहरी दिवसका अबसरमा उहाँलाई उक्त पदक प्रदान गरिएको हो । एसएसपी मैनाली हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता हुनुहुन्छ । उहाँलाई आज सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उक्त पदकसहित कदरपत्रले सम्मान प्रदान गर्नुभयो ।
उहाँसँगै नेपाली सेना, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी, राष्ट्रिय अनुसन्धान विभाग तथा अन्य विभिन्न संघसंस्थाका महानुभावहरुका साथै देशभरका सशस्त्र प्रहरी इकाईहरुमा कार्यरत रही विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई कदरपत्रसहित ‘आइजी एपिएफ निशान पदम’ प्रदान गरिएको थियो।
सो क्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीका सशस्त्र प्रहरी सहायक हवल्दार विष्णुप्रसाद न्यौपाने ‘वर्ष जवान–२०८०’ घोषित भए ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट भएको केन्द्रीय निरीक्षणका क्रममा देशभरका इकाईहरुबाट यस वर्ष सर्वोत्कृष्ट इकाई हुन सफल सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नम्बर १९ बगलामुखी (विशेष कार्यदल) गण काठमाडौँ र नम्बर ३ म्याग्लुङ्ग गुल्म तेह्रथुमलाई ‘रनिङ्ग अवार्ड’ प्रदान प्रदान गरिएको छ ।
महानिरीक्षक अर्यालले संगठनको नाम उच्च राख्न विशिष्ट एवं उल्लेखनीय कार्य गर्नुहुने सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेललाई ‘एपीएफ सम्मान’ प्रदान गर्नुभयो ।