काठमाडौँ : अपराध नियन्त्रण तथा अनुसन्धान तथा ट्राफिक व्यवस्थापन कार्यमा नेपाल प्रहरीद्वारा गरिने प्रविधिको प्रयोग बढ्दै गएको छ ।
जसका कारण अभियुक्तले अदालतमा इन्कारी बयान गर्दा पनि प्रविधिको प्रयोगका कारण आधिकारिकता प्रमाणित गर्न सहज हुँदै गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अझै अपुग रहेको छ । काठमाडौँ उपत्यकामा नै आवश्यक मात्रामा सिसी क्यामेरा जडान हुन सकेको छैन तर पनि प्रविधिको प्रयोग बढ्दै जानु महत्वपूर्ण कुरा हो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनाली पछिल्लो समयमा प्रहरीले प्रविधिलाई भरपुर उपयोग गर्ने नीति अवलम्बन गरेको र सोही अनुसार कार्य अघि बढाइएको बताउनुहुन्छ ।
हालै मात्र प्रहरीद्वारा सफल अनुसन्धान भई अदालतमा थुनछेक बहसको क्रममा रहेको मुलुकभर तथा नेपाली डायस्पोरासमेतमा बहु–चर्चित मुद्दामा पनि उच्चतम प्रविधिको प्रयोग भएको मैनालीले बताउनुभयो । अपराध अनुसन्धानमा आधुनिक प्रविधिको भूमिका दिनानुदिन बढ्दै गएकाले पनि प्रहरीले उक्त अभ्यासलाई अधिकतम प्रयोग गरिरहेको उहाँले बताउनुभयो ।
अनुसन्धान कार्यमा सङ्कलित दशी प्रमाणको परीक्षणका लागि हाल सामाखुशीस्थित नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला रहेको छ । उक्त प्रयोगशालामा रहेका विभिन्न ११ वटा शाखाहरुबाट रसायन तथा लागुऔषध, विष्फोटक पदार्थ, विष विज्ञान, डि.एन.ए., जीवसिरम विज्ञान, ब्यालेस्टिक, विवादास्पद प्रलेख, भौतिक (फुट प्रिन्ट, सवारी साधनको इन्जिन–चेसिस), फोटोग्राफीको वैैज्ञानिक परीक्षण एवम् विश्लेषण गर्दै आएको छ।
यस्तै औँला छाप, एफआइएस (अटोमेटेड फिंन्गर प्रिन्ट आइडेन्टिफिकेशन सिस्टम) आदि भौतिक सवुद–प्रमाणको वैैज्ञानिक परीक्षण एवम् विश्लेषण गरी सम्बन्धित निकायहरुलाई विशेषज्ञ राय उपलव्ध गराई अपराध अनुसन्धान र न्याय सम्पादन कार्यमा प्रहरीले सहजीकरण गर्दै आएको छ ।
काठमाडौँ बाहिर धरानमा विष विज्ञान र लागुऔषध तथा नेपालगञ्जमा विष विज्ञानको परीक्षण गरी सम्बन्धित निकायहरुलाई रायसहितको प्रतिवेदन दिने कार्य भइरहेको छ ।
डिजिटल फरेन्सिक ल्याव (डि.एफ.एल.)ले कम्प्युटर, फोन लगायतको डिजिटल परीक्षण, डाटा रिट्राइभ, विश्लेषण तथा अन्य वैज्ञानिक परीक्षण गरी रायसहितको प्रतिवेदन गर्ने गर्दछ ।
पोलिग्राफ मेशिनद्वारा आशंकित व्यक्तिले झुट बोलेको नबोलेको सम्बन्धमा परीक्षण गर्ने गरिन्छ ।
ज्यानसम्बन्धी कसूरलगायत अन्य कारणले भएको मृत्युको कारण पत्ता लगाउन त्रि.वि.शिक्षण अस्पताल फरेन्सिक विभागमा पोष्टमर्टम गरिने गरिन्छ । साथै अन्यत्र जिल्लाहरुमा पनि जिल्लास्तरसम्मै पोष्मटमार्टम गरिन्छ ।
कहिले काहीँ विवादित मुद्दाको अनुसन्धान गर्ने कार्य र भयानक दुर्घटनाको कारण भएको दुःखद मृत्युमा शवको पहिचानको लागि भने बाहिर जिल्लाबाट शवलाई त्रि.वि.शिक्षण अस्पताल फरेन्सिक विभागमा ल्याएर परिवारलाई शव बुझाइने गरिन्छ ।
केही वर्ष अघिसम्म पुलिस रिपोर्ट लिन असाध्यै कठिन रहेको थियो । हालैका दिनमा प्रविधिमार्फत संसारको जुन सुकै कुनाबाट अनलाइन फारम भरेको केही दिनभित्र पुलिस रिपोर्ट प्राप्त गर्न सकिने गरी व्यवस्थापन गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।
प्रहरी एप्समार्फत अपराध भएको, हुन सक्ने जानकारी प्रहरीलाई पठाई १००, १०३ र १०४ मा फोन गरी नागरिकले अपराध नियन्त्रण र अनुसन्धानमा बिनावर्दीको प्रहरीको भूमिका निर्वाह गर्नसक्ने पनि मैनालीले बताउनुभयो ।
ट्राफिक प्रहरीद्वारा सवारी दूर्घटना न्यूनिकरणका तथा अनुसन्धानका लागि विविध प्रविधिहरू प्रयोगमा ल्याइएका छन् ।
सिसीटिभी क्यामेरा, ट्राफिक लाइट, स्ट्रिट लाइट, रोड साइन एण्ड सिग्नल, रोड मार्किङ्स, राडर गन, लिडार गन, ब्रेथ लाइजर, ड्रग्स डिटेक्सन किट, गोप्रो क्यामेरा, भ्वाइस रेकर्डर, सर्भिलेन्स क्यामेरा जडित सवारी साधन, ह्वील लक, चेन लक, म्याजिक लाइटको प्रयोगबाट उपत्यकामा सवारी आवागमनलाई व्यवस्थित गर्न थालिएको छ ।
उपत्यकाको मुख्य मुख्य नाकामा भेइकल स्क्यानरलगायतका थप प्रविधि भित्र्याउन पहल भइरहेको छ । विभिन्न एप्समार्फत सवारी जरिवाना तिर्ने कार्यले पनि नागरिकको समयको वचत हुन गएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्ट बताउनुहुन्छ ।
पछिल्लो समयमा काठमाडौँ उपत्यका प्रहरीले सिसी क्यामेराका अलावा अटोमेटि नम्बर प्लेट रिकग्नाइजेसन क्यामेरा (एएनपिआर) प्रयोगमा ल्याएको छ ।
मुख्यगरी यसले चालकको गतिविधि नियन्त्रणमा सहयोग पुग्ने छ । सिट बेल्ट लगाएको छ की छैन, चालकले धुमपान गरेर गाडी चलाएको छ कि ? फोनमा कुरा गरेर पो गाडी चलाएको छ कि ? भनेर पत्ता लगाउन उक्त क्यामेराले सहयोग गर्छ । अनि नम्बर प्लेटलाई पनि रिड गरेर पठाउउने उक्त प्रविधि आधुनिक हो ।
यसले नम्बर प्लेट र चालकको सिटसम्मकै गतिविधि फोटो खिचेर सर्वरमा पठाउने हुँदा ट्राफिकिङमा ठूलो सहयोग गर्ने विश्वास गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले बताउनुभयो ।
उपत्यकामा यस्ता विभिन्न प्रविधियुक्त क्यामेरा १७० वटा राख्न थालिएको छ । फेस रिड क्यामेरा १० ठाउँमा, अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन क्यामेरा १० ठाउँमा र भिडियो म्यानेजमेन्टसहितको क्यामेरा (एआई प्रविधिमा आधारित) १५० स्थानमा जडान गर्न लागिएको उहाँले बताउनुभयो ।