काठमाडौँ । ट्राफिक प्रहरीले सवारी जाँच अभियान तीव्र बनाई चालकमाथि कारबाही गर्दा पनि लागूपदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) गरेर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने क्रम रोकिएको छैन ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट अझै पनि परीक्षणका क्रममा लापसे गरेर सवारी चलाउने चालकहरु पक्राउ पर्ने क्रम जारी रहेको बताउनुहुन्छ ।
“यसरी सवारी चालउँदा आफू त जोखिमा पर्छन् नै उनीहरुका कारण यात्रुहरु पनि जोखिममा पर्ने हुन्छ”, भट्टले भन्नुभयो, “गाडी चलाउँदा मापसे, लापसे वा अन्य कुनै पनि नशालु पदार्थ लिनुहुन्न भन्ने सन्देश पुगेर पनि यो क्रम रोकिएको छैन।”
लामो समयदेखि जाँच अभियान तिब्र पारिए पनि नशाको तालमा गाडी चलाउन नरोकिनु दुखद विषय भएको प्रहरीको भनाई छ ।
काठमाडौँको नागढुङगामा गरिएको जाँच अभियानका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ७ जना चालकलाई शुक्रबारमात्रै ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि पनि पटकपटक चालकलाई नियन्त्रणमा लिएर कारबाही भएको थियो । तर यो क्रम रोकिएको छैन।
बा २ ख ४० १७ नम्बरका माईक्रो चालक कास्कीको पोखरा महानगरपालिका १७ का २४ वर्षीय मिलन गिरी, ग १ ख २९७३ नम्बरका माईक्रो चालक पोखरा महानगरपालिका १ का ३५ वर्षीय मीनबहादुर तामाङ, बा ३ ख २१९५ नम्बरका माईक्रो चालक गोरखाका ३० वर्षीय हिमाल कोईराला लागुपदार्थ लिएर गाडी चलाइरहेका वेला पक्राउ परेका छन् ।
यस्तै बा ५ ख २३७ नम्बरका बस चालक गोरखाको भिमसेनथापा गाउँपालिका ४ का २२ वर्षीय भुवन सुर्खेती, ना ७ ख १३८६ नम्बरका ट्रक चालक खोटाङ घर भएका ३२ वर्षीय कटकबहादुर मगर र लु २ ख ३३ ५२ नम्बरका ट्रक चालक पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका २ का ३३ वर्षीय पवन थापा र ना ५ ख ७७७५ नम्बरका ट्रक चालक धादिङको धुनिबेसी नगरपालिका ८ का ३० वर्षीय प्रजय कार्की पनि पक्राउ परेका भट्टले बताउनुभयो । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा राखिएको छ ।
पछिल्लो समयमा नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरोले उक्त अभियान चलाइरहेको छ ।
यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको प्रहरी वृत्त थानकोटका प्रहरी नायव उपरीक्षक नारायण अधिकारी बताउनुहुन्छ ।
यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्छ । त्यसैले आफू सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।