काठमाडौँ । काठमाडौँको टुँडिखेलमा आज अप्रत्यासित रुपमा भागदौड मच्चियो । त्यहाँ थारु र मगर समुदायले माघी महोत्सव आयोजना गरेकाले आज अत्याधिक भीड थियो ।
त्यही भीडका बीचमा मानिसहरु आवातजावत गर्ने क्रममा गेट नजिकै भागदौड मच्चिएको हो । भागदौडामा १६ जना घाइते भएका छन् ।
भागदौडको ठ्याक्कै कारण भने कसैसँग पनि छैन तर मानिस च्यापिएर भने घाइते हुन पुगेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको कार्यक्रममा भागदौड भएको बताए । भागदौडमा एक जना प्रहरी पनि घाइते भएका छन्।
घाइतेहरुलाई ट्रमा सेन्टरमा उपचार गराइरहेको छ । केही वेहोस भएका थिए भने केहीलाई समान्य चोट लागेको छ । तर सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
को-को भए घाइते
घाइते हुनेहरुमा १२ वर्षीया त्रिसना मगर, १२ वर्षीया अञ्जना तामाङ, १९ वर्षीया रेजिना घले, १६ वर्षीया निकिता मगर, ३० वर्षीया रेखा चौधरी, १६ वर्षीया अनिसा केसी छन्।
यस्तै २५ वर्षीया कल्पना चौधरी, २२ वर्षीया मन्दिरा बस्नेत, ४० वर्षीया मिना थापा, १९ वर्षीया रिजा रेस्मी मगर, प्रहरी जवान पृथ्वी बुढामगर, २५ वर्षीया निशा राना थापा, २२ वर्षीया निर्मला श्रेष्ठ, २७ वर्षीया रश्मी नेपाल, ११ वर्षीया युनिका बराल, १४ वर्षीया करिश्मा मगर रहेको ढुङ्गेलले बताए।