काभ्रे ।
जगाउ आमा आइपिएम तरिका
जुटौँ हामी गाउँघर थरिका
साथैमा सानो खेत
माया आइपिएममा गरौँ भेट ।
मादलको तालमा जब काभ्रेको मण्डनदेउपुर कुन्तावेसीका किसान महिलाले झ्याउरे गीत घन्काए ।
तब किसानको साथी बनेर त्यहाँ पुग्नु भएका संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठनका महानिर्देशक छु दोङयु महिलाहरुसँगै खुट्टाको ताल मिलाएर नाँच्न थाल्नुभयो ।
पश्चिमा गीतसंगितको तालभन्दा निकै फरक मादलको ताल पहिल्याउन सुरुवातमा उहाँलाई अलिक अप्ठेरो पर्यो । तर महिलाहरुको नाँच हेर्दै त्यही ताल पछ्याउँदै रमाउन जान्नुभयो । अर्गानिक खेति प्रविधिलाई सघाउ पुर्याउने आइपिएम सम्बन्धी चेतनामुलक गीतको धुनले गाउँ नै गुञ्जायमान बन्यो ।

विश्वकै किसान र खेति बुझेका त्यति ठूलो व्यक्ति गाउँमा आफुहरुसँगै नाँच्दा किसानहरुको पनि भुईँमा खुट्टा रहेन । झन रन्काउदै मादल बज्यो । दोङसँग रहनु भएका संगठनका एसियाली तथा राष्ट्रिय प्रतिनिधिहरु पनि गाउँलेसँगै निकै बेर नेपाली मौलिक लोकगीतमा रमाए ।
असिन–पसिन हुनेगरि रमाइलो गरेपछि प्रफुल्ल बनेका दोङले बिचबिचमा गीतले के भनेको भनेर सोध्न पनि भ्याए । आइपिएममा किसान आकर्षित गर्न चेतनामुलक गीत बनाएर यसरी रमाउदै नाँच्ने, गाउने र अरु किसानलाई सिकाउने गरेको थाहा पाउँदा उहाँको खुशीको सिमाना रहेन । त्यति ठूलो व्यक्ति गाउँमा आएको खुशीयालीमा गाउँलेहरुले गाउँ नै ध्वजापताकाले सिंगारेर सुन्दर बनाएका थिए ।

परम्परागत पञ्चेबाजा र धामी बाजा बजाउदै फूलमालाले उहाँको स्वागत गरिएको थियो । लाम लागेर बसेका किसानसँग भलाकुसारी गर्दै उनीहरुको स्वागतको फूल ग्रहण गर्दा किसानहरु पनि खुशी देखिए ।
कुनै फिल्मिी दृष्य झैँ लाग्नेगरि संगठनको सेता गाडीहरुको लामो लहरसहित दोङयु गाउँ पुग्नुहुँदा गाउँको रौनक नै छुट्टै बन्यो । घरहरुमा ताल्चा मारेर कार्यक्रम स्थलमा भेला भएका हरेक किसानहरु उनलाई नजिकबाट हेर्न र सुन्न चाहन्थे । करिब एक घण्टाको कार्यक्रमका क्रममा नेपाल जैविक विविधता र प्राकृतिक स्रोत साधनले भरिपूर्ण देश भएको सुन्दर देश भएको उनले बताए ।

अहिलेको पुस्तामात्र हैन भविष्यको पुस्ताका लागि पुग्नेगरि खाद्य तथा कृषि क्षेत्रको विकास र उत्पादनमा बढोत्तरी गर्नु अहिले विश्वकै चुनौती भएको पनि जानकारी गराए । नेपालको किसानको मेनहतलाई प्रविधि, अनुदान तथा बजारीकरणका लागि आवश्यक सहयोग गर्न नेपाल सरकारसँग छलफल भएको र सोही अनुसार किसानलाई सहयोग गर्ने बाचा गरे ।
सो गाउँका किसानका लागि भने यान्त्रीकरण, राम्रो उत्पादनका लागि आवश्यक बजार व्यवस्थापनको सिप र अर्गानिक खेति प्रणालीको तालिम ल्याउन सघाउने प्रतिवद्धता जनाए ।
उनले किसानसँगै गाउँका खेतिबाली चहारे । खेतमा लगाईका आलु तथा अन्य खेतिको बारेमा गाउँलेसँग जानकारी लिए ।

किसानलाई आइपिएमको तालिम दिदैँ आउनु भएकी अगुवा कृषक अम्बिका हमालले महिलाहरुको सहभागिता कृषि कर्ममा अत्यधिक रहेको सुनाए । किसान निर्मला पौडेलको बारीमा रोपिएका आलुको बोटको अवस्था राम्रो छ वा छैन भनेर जाँचे ।
मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाइवाले नगरपालिकाका १२ वटै वडामा आइपिएम शिक्षा विस्तार गर्न नगरपालिकाले पहल जारी राखेको बताए । उनले नगरपालिकाको मुख्य आम्दानीको स्रोत नै कृषि उत्पादन रहेकाले आधुनिक तर अर्गानिक खेतिबाट धेरै आम्दानी लिन सकिने उपायको खोजीमा किसानहरु रहेको उनले एफएओ प्रमुख दोङयुलाई सुनाए ।
नगरपालिकाका ७५ प्रतिशत जनसंख्या कृषिमा निर्भर रहेका छन् । सो क्षेत्रको तरकारी उत्पादनले देशकै राजधानी काठमाडौँ लगायत आसपासका जिल्लाको माग पुरा गर्ने गरेको छ । जैविक मल र विषादी उत्पादन कम रहेकाले त्यसलाई बढाउनका लागि आवश्यक सहयोगको माग किसानहरुले गरे ।

दोङयु गाउँमा आएको अवसर पारेर बालीमा लाग्ने रोगकिरा तत्काल पत्ता लगाउने एप्सको उद्घाटन गरियो । त्यस्तै किसानको स्वास्थ्य सुरक्षामा सघाउ पुर्याउने ड्रोनको पनि उद्घाटन भयो ।
जसले एकै निमेषमा धेरै परसम्म पुगेर औषधी र मल छर्न सक्ने अभ्यास पनि किसानका अघि गरिएको थियो । उनको आगमनमा गाउँलेले खसी काटेर भोज खान पनि भ्याए ।
भिडियो तल :
https://www.facebook.com/samriddhisanchar/videos/349894254649939