काठमाडौँ । जलवायु परिवर्तन, शक्ति राष्ट्रहरुले गरेको कार्वन उत्सर्जन, औद्योगिकरणलगायतका कारण हिमालय क्षेत्रमा परेको असरबारे नेपाली कलाकारहरुले आफ्ना सिर्जनामार्फत ‘हिमालयको रहस्य’ उजागर गर्ने भएका छन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले विविध कारणले विश्वको वातावरण विग्रिरहेको र त्यसले मुख्य गरी नेपालको हिमालय क्षेत्र प्रभावित भइरहेको सन्दर्भमा नेपाल र विश्व समुदायलाई सचेत गराउनका लागि कलामार्फत ‘हिमालयको रहस्य २०८०’ कला प्रदर्शनी आयोजना गर्न लागेको हो ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले औद्योगिक राष्ट्रहरुले ओजनतह विगारेर हिमाली क्षेत्रहरु दुषित बनाइरहेकाले कलामार्फत सचेत गराउन ‘हिमालयको रहस्य’ कला प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।
“उनीहरुले वातावरण विगार्ने हामीले सहीदिने अबस्था रहेको छ, त्यस्तो हुनुहुँदैन, त्यसकारण प्राकृतिक क्षेत्रलाई संरक्षण गर्दै कलामार्फत विश्वभर चेतना फैलाउनका लागि कार्यक्रम गर्न लागेका हौँ”, उहाँले भन्नुभयो।
कलाले पनि जनजागरण ल्याउनुपर्छ भनेर यसपाली पहिलो पटक हिमाललाई केन्द्रित गरेर चित्र सिर्जना गर्न लागिएको छ । त्यसका लागि कलाकारहरुलाई माघ ५ गते भित्र प्रदर्शनीमा सहभागि हुने चित्र सिर्जनाहरु बुझाउन आव्हान गरिएको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले बताउनुभयो । यही माघ भित्रैमा उक्त सिर्जनाको प्रदर्शनी गरिने छ ।
नेपालका हिमालहरु कालापत्थर भइरहेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले केही अघिको नेपाल भ्रमणका क्रममा हिमाल हेरेर चिन्ता प्रकट गर्नुभएको थियो ।
कोप–२८ मा नेपालको मुख्य प्राथमिकताको विषय नै हिमाल जोगाउनुपर्ने रहेको थियो । त्यसैले अहिले यो विश्वकै ध्यानाकर्षण भएको अवस्थामा कलाका माध्यामबाट हिमाल बचाउनका लागि अह्वान गर्न खोजिएको थुम्केलीले बताउनुभयो ।
यसले एकातर्फ पर्यटक पनि आकर्षित हुने र संरक्षणमा पनि टेवा पुग्ने विश्वास गरिएको प्रतिष्ठानले जनाएको छ।
नेपाल भित्रै भन्ने हो भने भुगोलमा जताततै डोजरे विकासले वातावरण विग्रिरहेको छ । बाढी, पहिरो बढाइरहेको छ । यस्ता कार्यक्रमले त्यसतर्फ पनि सचेत गराउने प्रतिष्ठानको कार्ययोजना रहेको कुलपति हार्तम्छालीले बताउनुभयो ।
उहाँले सिर्जनाले पनि वातावरण जोगाउन आव्हान गर्ने गरी पर्यावरणमा आएको समस्या भएकै ठाउँमा गएर त्यहाँको कला सिर्जनाहरु गर्ने तथा त्यहाँको पुरान कला तथा हस्ताकलालाई समेत कलामार्फत प्रचारप्रसार गर्ने योजना समेत प्रतिष्ठानको रहेको सुनाउनुभयो ।
समग्रमा भन्दा कलाका माध्यामबाट वातावरण जोगाउन आह्वान गर्न खोजिएको उहाँले बताउनुभयो ।
