काठमाडौँ : नेपालमा गाडीले मान्छे हानेर भाग्ने र त्यसको पहिचान नहुने ठूलो समस्या छ । उपत्यका लगायत देशभरीका सडकमा प्रविधिको प्रयोग न्युन हुँदा पनि यो समस्या आइरहेको छ । जसले नेपाल प्रहरीलाई हैरानी हुँदै आएको थियो ।
अब भने त्यसको पनि निगरानी गरी पहिचान गर्न सकिने नयाँ प्रविधि काठमाडौँ उपत्यकामा भित्रिएको छ । काठमाडौँ महानगरपालिकाको सहयोगमा उपत्यका प्रहरीले त्यसरी भागेका गाडीका नम्बर प्लेट र चालकले गाडी चलाउँदा कस्ता गतिविधि गरिरहेको छ भनेर रिड गर्ने क्षमताको अध्त्याधुनिक क्यामेराको प्रयोग थालिएको छ ।
जसलाई अटोमेटि नम्बर प्लेट रिकग्नाइजेसन क्यामेरा (एएनपिआर) भनिन्छ । मुख्यगरी यसले चालकको गतिविधि नियन्त्रणमा सहयोग पुग्ने छ । सिट बेल्ट लगाएको छ की छैन, चालकले धुमपान गरेर गाडी चलाएको छ कि ? फोनमा कुरा गरेर पो गाडी चलाएको छ कि ? भनेर पत्ता लगाउन उक्त क्यामेराले सहयोग गर्छ । अनि नम्बर प्लेटलाई पनि रिड गरेर पठाउँछ ।
आधुनिक प्रविधियुक्त उक्त क्यामेराले गाडीको नम्बर प्लेट र चालकको सिटसम्मकै गतिविधि फोटो खिचेर सर्वरमा पठाउने हुँदो ट्राफिकिङमा यसले ठुलो सहयोग गर्ने विश्वास गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताउनुभयो ।
“मानौँ कुनै गाडी दुर्घटना गराएर भाग्यो, त्यसको रङ मात्रै थाहा भयो, तर नम्बर प्लेट पहिचान भएन भने उक्त क्यामेराले त्यो बाटो भएर गएको गाडीको नम्बर प्लेट रिड गरेर राख्छ र सर्वरमा पठाउँछ । त्यसपछि त्यो रङको सबै गाडीको नम्बर पहिचान हुन्छ , अनि यातायातसँग् समन्वय गरेर गाडीधनीसम्म पुग्न सकिन्छ मा पनि सजिलो हुन्छ”, मैनालीले रासससँग भन्नुभयो ।
“मनिसले सत्य नबक्न पनि सक्छ, तर प्रविधि र प्रमाणले सत्य बक्नै पर्छ, त्यसकारण तथ्यमा आधारित भएर प्रमाण जुटाउन यसले सहयोग गर्छ”, एसएसपी मैनालीले थप्नुभयो, “अहिले हामीले कोटेश्वरको मुनी भैरब, नयाँ बसपार्क र महाराजगञ्ज क्षेत्रमा जडान गरेका छौँ ।” आधुनिक प्रविधि भएकाले नेपाली र इम्बोष्ट नम्रबलाई पनि क्याप्चर गर्छ ।
उहाँका अनुसार चार वटा मुनी भैरबमा, चार वटा महाराजगञ्ज क्षेत्रमा र दुई बसपार्क क्षेत्रमा जडान गरिएको छ । त्यसले सूचनाहरु उपत्यका प्रहरीको कन्ट्रोलमा पठाउँछ । त्यसबाट विष्लेषण गरेर आवश्यक काम गर्न सकिन्छ ।
यसअघि प्रहरीलार्य ‘हिट एण्ड रन’का घटनामा व्यक्ति र गाडी पहिचान गर्न गाह्रो हुन्थ्यो, अब यो राखेपछि दुर्घटनाबाट भागेको गाडी पत्ता लगाउन सकिन्छ । कालो गाडी थियो भनेर पत्ता लागेपछि कालो गाडी जतिको नम्बर प्लेट क्यामेराले पहिचान गर्छ, त्यसपछि यातायातसँग समन्वय गरेर धनी पत्ता लगाउन सकिन्छ ।
केही दिन अघि जडान गरिएको उक्त म्यामराका लागि काठमायौँ महानगरपालिकाको सहयोग रहेको छ । यसलाई अब विस्तार गर्दै लैजान जरुरी रहेको उपत्यका प्रहरीले जनाएको छ।
अरु पालिकाहरुले पनि सहकार्य गर्ने कुरा भइरहेको छ र अब यो आर्थिक वर्षभरीमा काठमाडौँका नाकाहरुमा राख्ने योजना रहेको मैनालीले जानकारी दिनुभयो । रातीको समयका लागि समेत यसले काम गर्छ । गाडीको लाइटा काटेर नम्बर क्याप्चर गर्ने क्षमता यसको रहेछ बताइन्छ ।
उपत्यकामा यस्ता विभिन्न प्रविधियुक्त क्यामेरा १७० वटा राख्न थालिएको छ । फेस रिड क्यामेरा १० ठाउँमा, अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन क्यामेरा १० ठाउँमा र भिडियो म्यानेजमेन्टसहितको क्यामेरा (एआई प्रविधिमा आधारित) १५० स्थानमा जडान गर्न लागिएको छ ।
उक्त प्रविधि जडानमा सिनर्जी आइटी सोलुसन काठमाडौँको प्राविधिक सहयोग रहेको छ । सोलुसनका कार्यकारी निर्देशक मनोज खड्काले विभिन्न प्रविधियुक्त ती क्यामेराले फरकफरक रुपमा काम गर्ने बताउनुभयो ।
उहाँले फेस रिड क्यामेराले अपराधी पत्ता लगाउन सहज हुने बताउनुभयो । कुनै हराएको व्यक्तिको फोटो सेट गरेको खण्डमा उक्त क्यामेराले त्यो व्यक्ति त्यस क्षेत्रमा पुगेको फेला पारेमा रिड गरेर पठाउँछ । भिडभाडमा यसले व्यक्ति पत्ता लगाउन सजिलो हुने उहाँले बताउनुभयो ।