काठमाडौँ : विवादित तपस्वी रामबहादुर बम्जन तीन करोडको कार भएर पनि अर्काे पाँच करोडको कार किनने तयारमिा रहेको पाइएको छ ।
यौन शोषण, व्यक्ति वेपत्ता र विदेशी मुद्रा अपचलन गरेको आरोपमा पक्राउ परेका उनले यसरी किनेका सवारी साधन भने अर्कैको नाममा लिने गरेको पाइएको छ । उनले घरमा करोडौँ रकम राखेको पाइएको छ भने नयाँ कार किन्नलाई तीन् करोड भुक्तानी गरिसकेको र बाँकी २ करोड दिने चरणमा रहेको भेटिएको छ।
पाँच करोडमा सेतो रङको ल्याण्ड क्रुजर जेडएक्स गाडी किन्ने प्रक्रियामा थिए।
उनले हाल भने प्रदेश–३–०१ ०२४ च ६७२९ नम्बरको तुलाराम तामाङको नाममा रहेको सेतो टोयटा फुर्टनर प्रयोग गरिरहेका थिए। उनले आफ्नै प्रयोगका लागि किन्न लागेको सेतो रङको ल्याण्ड क्रुजर जेडएक्स गाडी ललितपुरको बुङमती बस्ने बौद्ध धर्म संघ ललितपुरका अध्यक्ष पनित महर्जनको नाममा धुम्बाराहीस्थित युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिको शोरुममा ५ करोडमा बुक गरेका थिए ।
त्यसका लागि एड्भान्सस्वरुप तीन करोड भुक्तानी गरिसकेका थिए बाँकी भुक्तानीको प्रक्रियामा थियो । उनले क्रस फायर बाइक, डुक र चार वटा स्कुलर प्रयोग गर्ने गरेको पनि खुलेको छ। प्रहरी श्रोतका अनुसार उनले आश्रमलगायत अन्य विभिन्न क्षेत्रमा पनि पैसा राखेको आशंका गरिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआईबी०ले रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दा उनको अगाडि विदेशी मुद्रासहित करोडौँ नेपाली पैसाको थुप्रो पनि देखाइएको थियो।
उनलाई हिजो साँझ बुढानिलकण्ठस्थित उनकै घरबाट पक्राउ गरिएको थियो । सिआईबी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले हाम्फालेर भाग्न खोजेका बेला बम्जनलाई पक्राउ गरिएको बताइन्। उनको साथबाट तीस लाख ९२ हजार नेपाली रुपैयाँ बराबरका विभिन्न १७ देशका मुद्राका साथै तीन करोड तीन लाख ७५ हजार बरामद गरिएको छ ।
निजविरुद्ध यौन सन्तुष्टी प्राप्त गर्ने तथा बालयौन शोषण तथा व्यक्ति बेपत्ता गरेको आरोपमा जाहेरी दर्ता भएको थियो । विसं २०७१ साउनदेखि बाराको हलखोरियामा रामबहादुर बम्जनको आश्रममा आनीको रूपमा रहेकी २२ वर्षीया महिलाको जाहेरीका आधारमा सर्लाही जिल्ला अदालतबाट विसं २०७६ माघ २३ गते प्रहरीलाई पक्राउ अनुमति प्राप्त भएको थियो ।
साथै अवैधरुपमा विदेशी तथा नेपाली मुद्रा सञ्चित गरी राखेको छन् भन्ने सूचनाका आधारमा बम्जनको खोजतलास गरी पक्राउ गर्न पनि अनुमति प्राप्त भएको सिआईबीले जानकारी दिएको छ । लामो समयको खोजतलासपछि काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–६ मा रहेको आफ्नै घरमा लुकिछिपी बस्दै आएका बम्जन पक्राउ परेका हुन्।
“पक्राउ गर्ने क्रममा घरको चौथो तलामा रहेको दक्षिणतर्फ झ्यालबाट खाली रहेको भिरालो जमिनमा हाम्फालेर भाग्न लागेका बेला ब्यूरोको टोलीले निजलाई पक्राउ गरेको हो”, सिआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकरीले भने।
निजको साथबाट १४ थान मोबाइल, चार थान ल्यापटप र ट्याब, बीस वटा पेन ड्राइभ, रेकर्डर, मेमोरी कार्डलगायतका विद्युतीय सामग्री बरामद गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
बम्जनको आश्रमबाट बेपत्ता भएका व्यक्तिहरुको हकमा भने अनुसन्धान जारी रहेको सिआइबीले जनाएको छ।