रत्ननगर । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १५ ले नमूना काम अघि बढाएको छ । आफैँ पनि सामाजिक तथा मानवीय सेवाका लागि अब्बल वडाध्यक्ष आसिक तामाङको अगुवाइनमा समाजमा रहेका विपन्न, गरिब, असहाय तथा अभिभावकविहीनहरुले सेवा पाइरहेका छन् ।
वडाध्यक्ष तामाङ कसैलाई कुनै समस्या पर्यो भने सकेसम्म आफैँ पुगेर सक्दो सहयोग गर्दै आउनुभएको छ । यो उहाँको वडाध्यक्ष बन्नु अघिदेखिकै विशेषता हो ।
जनप्रतिनिधि भएपछि भने जिम्मेवारी थपिएको छ र अझै बढी सेवाभावमा तल्लिन हुनुभएको देखिएको छ। यसअघि पनि उहाँकै अगुवाईमा कतिले नयाँ जीवन पाएका छन् भने सहाराविहीनले संरक्षण पाएका उदाहरणहरु प्रशस्तै छन् ।
यसपाली उहाँले रत्ननगर वडा नम्बर १५ का गर्भवती र सुत्केरीलाई पोषण सामग्री वितरण गरेर अर्को नूमना काम अघि बढाउनुभएको छ । हेर्दा सामान्य लागे पनि यो उहाँले गरेको सहयोग प्रशंसनीय रहेको वडावासीहरुकै भनाइ छ। आज आइतबार मात्रै वडा कार्यालयले १२ जना गर्भवती र ८ जना सुत्केरीलाई पोषण सामग्री वितरण गरेको छ ।
सुरक्षित मातृत्वअन्तर्गत गर्भवती र सुत्केरीलाई पोषण तथा सरसफाई सामग्री उपलक्ध गराइएको वडाध्यक्ष आसिक तामाङले बताउनुभयो । पोषण सामग्रीअन्तर्गत कुखुरा, अण्डा, चना, दाललगायतका सामग्री छन्। वडाध्यक्ष तामाङ्गले गएको गएको वर्षदेखि उक्त राहत सहयोग दिन थालिएको बताउनुभयो ।
गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यप्रति वडाको जिम्मेवारीभित्र पर्ने महसुस गरी यो कार्यक्रम थालिएको उहाँले बताउनुभयो । उहाँले उनीहरुलाई नियमित स्वास्थ्य जाँच गराइरहेको पनि बताउनुभयो ।
यस्तै उनीहरुलाई सोही क्रममा सरसफाई सामग्रीसमेत वितरण गरिएको थियो । कार्यक्रममा वडा सदस्य लिलादेवी पोखरेल, रुकमाया परियार, वडा सचिव सुर्यप्रसाद ढुङ्गानालगायतको सहभागिता थियो ।