कामठाडौँ । घटना दर्ता, जन्मदर्ता तथा नागरिकता बनाउनका लागि नक्कली बाबु र आमा बनाएर काम गर्न खोज्नेहरुप्रति जनप्रतिनिधि र कर्मचारीहरु सचेत हुनुपर्नेमा आज काठमाडौँमा भएको एक कार्यक्रममा औँल्याइएको छ ।
आज काठमाडौँमा भएको घटना दर्ता तथा पञ्जिकरणसम्बन्धी अभिमुखिकरण कार्यक्रममा गृहमन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको पञ्जिकरण शाखाका निर्देशक दीलकुमार तामाङले यसरी नक्कली बाबु आमा राखेर काजगात बनाउन खोज्नेहरु धेरै ठाउँमा देखिएकाले यसतर्फ सचेत हुन जनप्रतिनिधि र कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।
जनप्रतिनिधि तथा वडाका कर्मचारीहरुलाई नक्कली काम गर्नेहरुप्रति सचेत हुन र ख्याल गरेर मात्रै सिफारिस गर्न उहाँले अनुरोध गर्नुभएको छ ।
चन्द्रागिरि नगरपालिकाको आयोजना तथा बाल विकास समाज र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहकार्यमा आज यहाँ भएको उक्त कार्यक्रममा उहाँले यसरी नक्कली बाबुआमा बनाएर कागजातहरु सिफारिस गरिएको खण्डमा कानुनको भागिदार हुनेतर्फ सचेत हुन पनि आग्रह गर्नुभयो ।
उहाँले सेवा प्रवाहका क्रममा सेवा भाव र सहानुभूतिलाई पनि ख्याल गर्न र कानुनले दिएको अधिकार प्रयोग गरी साँच्चै समस्यामा परेका नागरिकका गाँठो फुकाइदिन पनि अनुरोध गर्नुभएको छ ।
कतिपय अबस्थामा कानुनले दिएको अधिकार समेत भरपुर मात्रामा प्रयोग नहुँदा नागरिकले हैरानी खेप्ने गरेको तर्फ पनि ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रमम चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाका केही वडाका जनप्रतिनिधि र वडा सचिवहरुको सहभागिता रहेको थियो ।
सो क्रममा सहभागिहरुले जागिर खाने बेलामा उमेर घटनाउने र वृद्धभत्ता लिने बेलामा बढाउनका लागि पहल गर्नेहरु पनि देखिएको बताएका थिए । सहभागिहरुले आफ्नो कार्यक्षेत्रमा आएका समस्याबारे जानकारी गराई सो विषयमा कार्यक्रममा छलफल पनि गरिएको थियो ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले त्यस्ता समस्याका विषयमा आफूकहाँ पनि गुनासा लिएर नागरिकहरु आउने गरेको सुनाउँदै समाजमा यस्ता विकृतिहरु बढ्दै गएको बताउनुभयो । उहाँले रोजगारीका लागि नेपालमा विहे गरेर जाने र विदेशमा गएर डिभोर्स गर्ने गलत प्रवृत्ति बढ्दो क्रममा रहेकाले यसलाई रोक्नुपर्नेमा जोड दिनुभयो ।
कतिपय गिरोहले यसैलाई कमाई धन्दा गराइरहेको पनि सो क्रममा जानकारी गराइएको थियो । आजको अभिमुखीकरण चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका लागि महत्वपूर्ण भएको उहाँले बताउनुभयो ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले कार्यक्रमले जनप्रतिनिधि र कर्मचारीमा रहेको द्विविधा हट्ने विश्वास व्यक्त गर्नुभयो ।