काठमाडौँ । नेपाल ह्याचरी उद्योग संघको अध्यक्षमा लक्ष्मीदास मानन्धर सर्वसम्मत चयन हुनुभएको छ । शुक्रबार भएको १७औँ साधारणसभा तथा अधिवेशनले राजेन्द्र लामिछानेलाई पनि वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन गरेको हो।
यसैगरी प्रथम उपाध्यक्ष डा बलराम किसी, दित्तिय उपाध्यक्ष बलराम सन्जेल र महासचिवमा ज्ञानवहादुर बिसुराल चयन हुनुभएको छ । कोषाध्यक्षमा नवराज पौडेल र सचिवमा विवेक भट्ट निर्वाचित हुनुभयो। यस्तै सदस्यहरुमा विष्णुप्रसाद रिमाल, बोधराज निरौला, गोविन्द खड्का, परशुराम अधिकारी, धातनन्द कँडेल, मनिराज नौनियाल, कपिलबाबु खनाल, मोहम्मद रिजवान अहमद, नारायण गिरी र युवराज अधिकारी निर्वाचित हुनु भएको छ ।
उद्घाटन सत्रमा बोल्दै कृषि मन्त्रालयका सचिव डा रेवतीरमण पौडेलले मन्त्रालय यस क्षेत्रमा रहेका ऐन, कानुन, नीति, नियम तथा निर्देशिका परिमार्जनका लागि अध्ययनको क्रममा रहेको जानकारी दिनुभयो ।
उहाँले पोल्ट्री क्षेत्रको समस्या समाधान गर्न मन्त्रालय तयार रहेको र त्यसका लागि आवश्यक समन्वयको खाँचो औँल्याउनुभयो । उहाँले आपसी छलफल गरेर अघि बढ्दा समाधान नहुने समस्या नरहेको दावी पनि गर्नुभयो । मन्त्रालयका सहसचिव सूर्य पौडेलले बाहिर कुरा गर्न भन्दा सँगै बसेर समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पशुसेवा विभागका महानिर्देशक डा। उमेश दाहालले नेपालका कुखुरा व्यवसायीहरुमा उत्पादन लागत बढ्दा समस्या रहेको बताउँदै समस्या समाधानका लागि राज्य तयार रहेको बताउनुभयो । उहाँले ह्याचरी उद्योग घट्नु दुखद भएको बताउनुभयो । नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष ऋषिराम पौडेलले नेपालमा कुखुरा व्यवसाय विगत ४ वर्षदेखि ओरालो लाग्दै आएकोमा दुख व्यक्त गर्नुभयो ।
उहाँले १६० अर्ब लगानी रहेको र गार्हस्थ उत्पादनमा ३।५ प्रतिशत योगदान पुर्याएको पोल्ट्री क्षेत्रमा ५ लाख रोजगारी सिर्जना भएको बताउनुभयो । उहाँले अहिले यस क्षेत्र प्रभावित भएको र ३४४ सदस्य रहेको ह्याचरी उद्योगमा घटेर १२१ मा झर्नु दुखद पक्ष भएको बताउनुभयो । उहाँले कुखुरा व्यवसायलाई धरासायी हुन नदिन सरकारसँग अनुरोध गर्नुभयो ।
सो क्रममा नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द विष्टले पोल्ट्री क्षेत्रको विकास र समस्या समाधानमा सरकारले खास काम गर्न नसकेको भन्दै ध्यानाकर्षण गराउनुभयो । उहाँले पोल्ट्री बोर्ड बनाउने कुरा ओझेलमा परेको उल्लेख गर्दै उहाँले त्यसका लागि बनेको निर्देशक समितिलाई क्रियाशिल बनाउन सरकारसँग माग गर्नुभयो ।
कार्यक्रममा संघका उपाध्यक्ष ज्ञानबहादुर विसुराल, नेपाल कुखुरा व्यवासायी मञ्चका अध्यक्ष रघुनाथ भट्ट, नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले कुखुरा व्यवसायमा देखिएका समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।