चितवन । ‘कुखुराको अण्डा र मासुको परिकार स्वास्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ ११औँ राष्ट्रिय पोल्ट्री दिवस आज चितवनमा सम्पन्न भएको छ ।
मञ्चका अध्यक्ष रघुनाथ भट्टको सभापत्विमा भएको उक्त कार्यक्रम मञ्चका पूर्वअध्यक्ष एवं नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोखरेलले कुखुराको स्तम्भको अनावरण गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । सो क्रममा कुखुराको मासु र अण्डाको महत्वका बारेमा जानकारी गराइएको थियो ।
कर्यक्रम शुरु भएपछि बाजागाजा र प्ले कार्डसहितको प्रभातफेरी मञ्च परिसरबाट अस्पतालरोड चौविसकोठी, नारायणगढको लायन्स चोक हुँदै भरतपुर २ क्षेत्रपुरस्थित नमस्ते चोकमा पुगेर समापन भएको थियो।
प्रभातफेरिमा पोल्ट्रीका विभिन्न व्यवसायिक संघ सस्थाहरु, नेपाल भेटेरिनरी एशोसियशन बाग्मती प्रदेश, रामपुर भेटेरिनरी कलेज रामपुर, नेपाल पोलिटेक्निक ईन्स्टिच्युट, वैरिया प्राविधिक शिक्षालयका विद्यार्थीहरु ब्यानरसहितको सहभागीता रहेको थियोे ।
प्रभातफेरीमा विभिन्न व्यवसायिक संघ संस्थाहरु, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कर्मचारीहरु, विभिन्न व्यवसायिहरु, पशुचिकित्सकहरु, विभिन्न भेटेरिनरी कलेजमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । पोल्ट्री दिवस कै अवसरमा नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजना र भरतपुर महानगर पालिका वडा न २ को सहयोगमा रक्तदान कार्यक्रम गरिएको थियोे ।
सो क्रममा ११० जनाले रक्तदान गर्नु भएको थियोे । त्यस्तै अण्डा र कुखुराका मासुका परिकार बनाइ नि:शुल्क रूपमा वितरण गरिएको थियोे ।
नेपाल कुखुरा व्यवसायी मञ्च र नेपाल भेटेरिनरी एशोसिएशन बाग्मती प्रदेशको सहकार्यमा विगत १ हप्तादेखि बाग्मती प्रदेशका सरकारी तथा निजी विद्यालयका विद्याथीहरुलाई अण्डा र कुखुराको मासुका परिकारका बारेमा चिकित्सकहरुबाट प्रशिक्षण गराइ अण्डासमेत वितरण गरिएको थियो ।
११औँ राष्ट्रिय पोल्ट्री दिवसलाई विगतको भन्दा फरक प्रकृतिबाट मनाइएको छ । कार्यक्रमको समापनका अवसरमा मञ्चका पूर्वअध्यक्ष एंव नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोखरेलले सहयाग गर्ने निकायहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
मञ्चका अध्यक्ष रघुनाथ भट्टले कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ज्ञानबहादुर विसुरालले गर्नु भएको थियो । उहाँले कुखुराको मासु र अण्डा मानवस्वस्थ्यका लागि निक्कै फाइदाजनक रहेको बताउनुभएको थियो ।