चितवन । चितवनको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले नगरका कुनै पनि विद्यार्थी पैसाको अभावमा शिक्षाबाट वञ्चित हुनु नपर्ने बताउनुभएको छ ।
आज यहाँस्थित पृथ्वी माध्यामिक विद्यालयको ५५औँ वार्षिकोत्सवक तथा अभिभावक दिवसका अबसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रमुख रेग्मीले यसका लागि कालिका नगरले आवश्यक सहयोग गर्ने विश्वास दिलाउनुभएको छ ।
यसका लागि आफूले ग्यारेन्टी गरेको पनि उहाँले बताउनुभयो । प्रमुख रेग्मीले भन्नुभयो, “नगरका कुनै पनि विद्यार्थी पैसाको अभावमा शिक्षाबाट वञ्चित हुनुपर्दैन, त्यसको ग्यारेन्ट म गर्न चाहन्छु ।”
उहाँले शिक्षाको विकास गरेर मात्रै अरुको विकास गर्न सकिने र यसका लागि सबैले आआफ्नो क्षेत्रबाट काम गर्न उहाँले आग्रह गर्नुभयो ।
पुस्तक मात्रै नघोकाई विद्यार्थीका अभिभावकको गरिबी, अशिक्षा, भूगोल, बुबाआमाको दुखलाई बुझुन शिक्षकहरुलाई अनुरोध गर्दै उहाँले सक्षम नागरिक उत्पादन गर्नुे दायित्व पनि पृथ्वी माविको रहेको बताउनुभयो ।
उहाँले यस विद्यालयलाई अब्बल बनाउन सुन्तलाकोभन्दा स्याउको एकतामा ध्यान दिन अनुरोध गर्नुभयो । “सुन्तला एउटा भए पनि भित्र केस्रा हुन्छ, स्याउमा हुँदैन, सबै एक हुन्छ स्कुल त्यसरी सुन्तलाको जस्तो केस्रा बन्नुहुन्न”, उहाँले भन्नुभयो ।
उहाँले बीचैमा पढाई नछाड्न विद्यार्थीहरुलाई पनि अनुरोध गर्नुभयो । स्कुल धेरै सुधार हुँदै आएकोमा बधाई दिँदै उहाँले अझै प्रगतिमा लैजान गर्न अनुरोध गर्नुभयो ।
आगामी दिनमा नगरपालिकालाई शैक्षिक क्षेत्रमा समृद्ध नगर बनाउन पृथ्वी माविले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उहाँको जोड थियो ।
भौतिक पूर्वाधार बनाएको तर त्यसले मात्रै नहुने भएकाले शिक्षाको गुणस्तर वृद्धि गर्न उहाँले अनुरोध गर्नुभयो । विद्यालयको समस्या समाधानमा आफू सधैँ लाग्ने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो ।