चितवन : चितवनको रत्ननगर नगरपालिकास्थित टिकौलीचौरमा पुस २६ गतेबाट सुरु हुने रत्ननगर महोत्सवको तयारी तीव्र पारिएको छ।
रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवमा यस वर्ष कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ। रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सव माघ ८ गते सम्म चल्ने छ।
रत्ननगरमा प्रत्येक दुई/दुई वर्षमा आयोजना हुने यस महोत्सवले समग्र चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादनमा जोड दिने अपेक्षा गरिएको संघका अध्यक्ष तथा महोत्सव मुल व्यवस्थापन समितिका संयोजक शंकर गिरीले जानकारी दिनुभयो ।
अध्यक्ष गिरीले महोत्सवमार्फत उद्योग, कृषि र पर्यटन मार्फत आर्थिक गतिविधिलाई चलायमान गराउने बताउनुभयो । महोत्सव २०८० मा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहने छन् ।
देशकै तेश्रो पर्यटकीय गन्तव्य स्थल चितवन सौराहाको मूलद्धार रत्ननगर रहेको छ । महोत्सवले विशेष सामाजिक एवं सांस्कृतिक महत्व बोकेको भन्दै अध्यक्ष गिरीले समग्र आर्थिक क्रियाकलापमा गतिशिलता ल्याउन, स्वदेशमा उत्पादित वस्तु तथा सेवाहरुको बजार पहिचान गरी नवव्यवसायी र व्यवसायिक क्षेत्रको प्रबद्र्धनलाई प्रोत्साहन गर्ने बताउनुभयो ।
यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करिब २५ करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।
चितवनवासीको गौरव र गरिमामय प्रस्तुति रत्ननगर महोत्सव परिसरमा बृहत व्यवसायिक कृषि प्रर्दशनी तथा मकैवाली विशेषमा मकैका नयां प्रविधि, मकैका परिकार, ताजा तरकारी, थोपा सिंचाई प्रविधि, केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसँगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिएको संघका बरिष्ट उपाध्यक्ष निराजन खनालले जानकारी दिनुभयो ।
स्थानीयस्तरमा उत्पादित अन्नवाली मकैवाली, ताजा तरकारी, फलफुल, दुग्ध जन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउ बीजनहरु महोत्सवमा प्रदर्शन र बजारीकरणको व्यवस्था गरिने उहाँदले बताउनुभयो।
महोत्सव अवधिभर कृषिसंग सम्बन्धित, पूर्वी चितवनमा बढ्दो सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सरोकारवालसंग जिल्ला ट्राफिक र प्रदेश ट्राफिकसँग समन्वय गरी दुर्घटना न्यूनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम, चितवनको आर्थिक विकास र उन्नयनका लागि विशेष आर्थिक क्षेत्रको स्थापना र चुनौती विषयक गोष्ठी सञ्चालन गरिने संघका महासचिव उपेन्द्रशर्मा आचार्यले जानकारी दिनुभयो ।
विगतमा जस्तै महोत्सवअन्तरगत पौष २९ देखि ४ गतेसम्म ५ दिन रत्ननगरको सौराहाचोक बसपार्कमा विभिन्न जनजातीहरुको विशेष खाना, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि विशेष परिकारसहित पाँचौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव आयोजना गरिने संघका पूर्वअध्यक्ष तथा खाना महोत्सवका संयोजक ज्ञानबहादुर विसुरालले जानकारी दिनुभयो ।
रत्ननगर महोत्सवमा प्रवेशका लागि अबलोकनकर्ताले खरिद गरेको टिकटबाट मौलाकालिका केबुलकारमा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ।
महोत्सवको टिकट लिएर जानेलाई माघ १५ गतेसम्म सो सुविधा प्राप्त गर्न सक्ने संघले जनाएको छ ।