काठमाडौँ : ललितपुरको बालकुमारीमा हिजो भएको प्रदर्शनका क्रममा आवश्यक सुरक्षा व्यवस्था मिलाउन नसकेका ललितपुरका प्रमुख जिल्ला रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालयमा र जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालमया तानिएको छ।
यस्तै त्यसक्षेत्रमा सुरक्षाका लागि ललितपुर परिसरबाट खटिएका प्रहरी नायव उपरीक्षक उमेशराज लम्साल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत (पीएसओ) बोधराज दनुवार र ईपीएस कोरिया शाखा प्रमुख (निर्देशक) गुरुदत्त सुवेदीलाई निलम्बन गरिएको छ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सिडिओ र एसएसपीलाई फिर्ता बोलाइएको तथा उनीहरुलाई निलम्बन गरिएको जानकारी दिए। सुवेदीलाई भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निलम्बन गरेको हो।
यसअघि आज विहान प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुरक्षामा कमजोरी देखिएको बताउँदै ती अधिकारीहरूलाई निलम्बनका लागि निर्देशन दिएका थिए।
सोही आधारमा उनीहरूमध्ये दुई जनालाई जिम्मेवारीबाट हटाइएको र तीन जनालाई निलम्बन गरिएको हो।
यसअघि हिजो उक्त घटनाको सत्यतथ्य छानबिन गर्न प्रहरी नायव महानिरीक्षक (डिआइजी) लालमणि आचार्यको संयोजकत्वमा छानबिन समिति बनाइएको छ। उक्त समितिलाई सात दिनको कार्यादेश दिइएको छ।
शुक्रबार कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस)को परीक्षा दिन नपाएका युवाले उक्त कार्यालय ग्वार्कोमा प्रदर्शन गरेका थिए। त्यसक्रममा दुई जनाको ज्यान गएको थियो। प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीसमेत जलाएका थिए।
उक्त घटनामा एक मृतकलाई गोली लागेको छ भने अर्का व्यक्तिको मृत्युको कारण खुलेको छैन तर प्रत्यक्षदर्शीले भने प्रहरीको कुटपिटबाट मृत्यु भएको दावी गरेका छन्।
‘सुरक्षा प्रदान गर्ने क्रममा हुन गएको अप्रत्याशित घटनामा परी अछाम चौरपाटी गाउँपालिका १ घर भई हाल काठमाडौँ बस्ने वर्ष २१ का वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका ६ घर भई हाल भक्तपुर बस्ने वर्ष २३ को सुजन राउतको मृत्यु भएको दुःखद घटनाका सम्बन्धमा गृह मन्त्रालय मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ’, मन्त्रालयले आज साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाल सरकारका तर्फबाट मृतकका परिवारलाई प्रतिपरिवार दश लाख राहत रकम उपलब्ध गराउने र उक्त घटनाको छानबिन गर्न मन्त्रालयबाट गठन गरिएको छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भइसकेको मन्त्रालयले जानकारी गराएको छ ।
हिजो भएको दुःखद घटनाका सन्दर्भमा गृह मन्त्रालयले अत्यन्त संवेदनशील रहेको र उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । सबै नागरिकहरुकले आफ्ना विषयहरु शान्तिपूर्ण रुपमा राख्न पाउने अधिकारको सुनिश्चितता प्रदान गर्न सरकार निरन्तर लागि परिरहेको पनि मन्त्रालयले जनाएको छ ।