काठमाडौँ । जाजरकोट भूकम्पका ६७ हजार बढी लाभग्राहीमध्ये आजसम्म ११ हजार ३३७ घर (अस्याथी आवास) निर्माण सम्पन्न भएको छ ।
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरण अनुसार अन्य १० हजार ११८ घर निर्माणधीन रहेको छ ।
अहिले धमाधन अस्थायी आवासका लागि अनुदानबापदको रकम सम्झौता गरी बुझ्ने र घर निर्माण गर्ने कार्य जारी रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो ।
प्राप्त विवरणमा जाजरकोटमा ५ हजार २०२, रुकुम पश्चिममा ५ हजार ७९८, सल्यानमा १९३, बझाङमा १३ र बाजुरामा १३० घर निर्माण सम्पन्न भइसकेको छ ।
पोखरेलका अनुसार आजसम्म केन्द्रबाट अस्थायी आवासका लागि २ अर्ब २६ करोड रकम जिल्ला विपद व्यवस्थापन समितिमा पठाइसकिएको छ । त्यसमध्ये एक अर्ब ५३ करोड रकम जिल्लाबाट स्थानीय तहमा पुगिसकेको छ । स्थानीय तहबाट प्रक्रिया पुगेका लाभग्राहीको खातामा भने ५८ करोड ७८ लाख रकम पठाइसकिएको छ ।
अहिलेसम्म जाजरकोटमा ३५ हजार १४०, रुकुम पश्चिममा २३ हजार ६०८, सल्यानमा एक हजार ७३०, बझाङमा ४ हजार ५७६ र बाजुरामा २ हजार ७२९ गरी कुल ६७ हजार ७८० लाभग्राही कायम भएका छन् ।
अझै झण्डै ५० हजार लाभग्राहीसँगँ अनुदान सम्झौता हुन बाँकी रहेकाले त्यो काम जारी रहेको प्राधिकरणका नीति तथा योजना महाशाखा प्रमुख भरतमणि पाण्डेले बताउनुभयो । उहाँका अनुसार शुरुमा अस्थायी आवासका लागि गति कम भए पनि अहिले भने बढिरहेको छ ।
उहाँले लाभग्राहीहरुको पहिचान हुँदै गएकाले संख्या थपिँदो क्रममा रहेको र ८० हजार पुग्ने अनुमान गरी सोही अनुसार तयारी भइरहेको जानकारी दिनुभयो ।
८० हजार लाभग्राही हुँदा उनीहरुको अस्थायी आवासका लागि ४ अर्ब ७५ करोड लाग्ने भएकाले सोही अनुसार बजेट व्यवस्थापनको तयारीमा प्राधिकरण लागेको जनाइएको छ । त्यसमध्ये २ अर्ब २६ करोड रकम पठाइसकिए पनि बाँकी रकमको जोहो गर्नुपर्ने हुन्छ ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत कात्तिक १७ गते ६.४ म्याग्निच्युटको भूकम्प गएको थियो । उक्त भूकम्पले जाजरकोटसहित रुकुमपश्चिम, सल्यान, बझाङ, बाजुरामा क्षति पुर्याएको थियो ।