काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नेपाली रैथाने कलाको संरक्षण तथा प्रवद्र्धन गर्ने भएको छ ।
नेपाली कलाको विकास र संरक्षणमा योजनाबद्ध ढङ्गले काम गर्ने नीतिगत तयारी गरेको प्रतिष्ठानले सातै प्रदेश, पालिका सरकार तथा सरोकारी संघसंस्थासँगको सहकार्यमा रैथाने कलाको संरक्षण अभियान अघि बढाउन लागेको हो । अहिलेसम्म रैथाने लोक कलाहरुको संरक्षणमा खासै ध्यान पुगेको छैन ।
कला प्रदर्शनीहरु पनि आधुनिकतामा केन्द्रित भइरहेका छन् । गाउँगाउँमा त्यस्ता मौलिक कलाहरु हराउँदै गएको छ । त्यसैले ती कलालाई जीवन्त राख्नुपर्ने आवश्यकता महसुस गरी रैथाने कलाको संरक्षणमा यसपाली जोड दिइएको प्रतिष्ठानले जनाएको छ ।
“सकेसम्म छायाँमा परेका कला, स्थान र प्रतिभालाई प्राथमिकता दिएर नेपाली राष्ट्रियपनको रैथाने लोकसमुदायगत संस्कृति र भौगोलिक–प्राकृतिक पर्यावरणको विषयवस्तुलाई उठाउन जोड दिने निर्णय भएको छ”, प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्ले ‘थुम्केली’ले रासससँग भन्नुभयो, “त्यसका लागि प्रतिष्ठानले विभिन्न कार्यविधि समेत तयार गरिसकेको छ।”
ललितकला क्षेत्रको प्राज्ञिक उन्नयनसँगै मौलिकता संरक्षण गर्ने, रोजगारी सिर्जना गर्दै अर्थतन्त्रमा योगदान दिने लक्ष्यानुसार प्रतिष्ठानले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानः अनुसन्धान, सिर्जना र सम्मान’ भन्ने भावमा रही ललितकला क्षेत्रको रणनीतिक योजनासहित कला संरक्षणका लागि देशका सातै प्रदेशमा कार्यक्रम गर्ने भएको हो ।
त्यसरी संरक्षण गरिएका कलाहरुलाई सातै प्रदेशमा प्रादेशिक प्रदर्शनी गर्ने तयारी पनि भएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताउनुभयो । उहाँले भन्नुभयो, “कलामा पुनर्जागरण ल्याउने लक्ष्य अनुसार नेपाली कला र कलाकारको सर्वेक्षण गर्ने योजनासमेत रहेको छ, प्रदेश र पालिकामा सांस्कृतिक संरचना निर्माणमा सहजीकरण गर्न पहल गरिने छ।
सफल भएमा त्यसले नेपाली मौलिक कला संरक्षणमा सहयोग गर्ने छ।” यसका साले कला क्षेत्रको विकास र प्रवद्र्धनका लागि अन्य धेरै योजना तर्जुमा गरी लागू गर्ने चरणमा प्रतिष्ठान पुगेको पनि उहाँले बताउनुभयो ।