काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले कला, सिर्जनाको विकास र प्रवद्र्धनमा पुनर्जागरण ल्याउने गरी रुपान्तरणकारी कार्ययोजना अघि बढाएको छ ।
देशका सातै प्रदेशमा कलाको विकास गर्नेगरी प्रतिष्ठानले ललितकला क्षेत्रको रणनीतिक योजना सार्वजनिक गरेको हो ।
प्रतिष्ठानले आज सार्वजनिक गरेको योजनाअनुसार प्रदेश र पालिका सरकार तथा सरोकारी संघसंस्थासँगको सहकार्यमा कला, स्थान र प्रतिभालाई प्राथमिकता दिँदै नेपाली राष्ट्रियपनको रैथाने लोक समुदायगत संस्कृति र भौगोलिक–प्राकृतिक पर्यावरणको विषयवस्तुलाई उठाउन खोजेको छ ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानले संस्थागत संरचना सुधार, नीतिगत कार्यक्रम, आर्थिक, प्रशासनिक तहमा दीर्घकालीन महत्व राख्ने कार्यक्रम तथा निर्णयहरू गर्न लागेको जानकारी दिनुभयो ।
त्यसका लागि प्रतिष्ठानले विभिन्न कार्यविधि समेत तयार गरेको छ र केही कार्यविधिहरू प्रदेशको थप आधारभूत छलफल तथा तथ्यस्थिति अध्ययनपश्चात् निर्माण गरिने उहाँले बताउनुभयो ।
सार्वजनिक ललितकलाको रुपान्तरणकारी योजनाहरु हालै काठमाडौँमा भएको प्रतिष्ठानको प्राज्ञ सभाले समेत पारित गरिसकेका छन् ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रतिष्ठानले कला क्षेत्रको विकास र प्रवर्धनका लागि प्रतिष्ठानले तलैदेखि काम सुरू गरेको बताउनुभयो ।
उहाँले महत्वाकांक्षी योजना देखिएता पनि कार्यान्वयन गर्न सकिने खालका रहेका जानकारी दिँदै प्रतिष्ठानको सीताभवनलाई उच्चस्तरको संग्रहालय बनाउने योजना अघि सारिएको जानकारी दिनुभयो ।
यसअघि प्रतिष्ठानले ललितकला क्षेत्रको प्राज्ञिक उन्नयनसँगै मौलिकता संरक्षण गर्ने, रोजगारी सिर्जना गर्दै अर्थतन्त्रमा योगदान दिने, राजधानी तथा देशका सातै प्रदेशमा रहेका कलाकार तथा कला संस्थासँग भेटघाट गरी कला क्षेत्रमा गर्नुपर्ने कार्यका बारेमा सुझाव समेत लिएको थियो ।
नेपाली कलामा पुनर्जागरण ल्याउने उद्देश्यले प्रतिष्ठानले यही वर्षदेखि प्रादेशिक प्रदर्शनी सुरु गर्न लागेको छ । यस्तै नेपाली कला र कलाकारको सर्वेक्षण गर्ने, राष्ट्रिय ललितकला प्रदर्शनी, तीनवटा प्रदेशमा कलाकार सम्मेलन/कार्यशाला/गोष्ठी तथा प्रदर्शनी, केन्द्रका तीनवटै प्रज्ञा–प्रतिष्ठान र प्रदेश÷पालिकाकामा स्थापित प्रतिष्ठान/परिषद्/समिति आदिको काठमाडौँमा भेलालगायतका कार्यक्रम गरिने प्रतिष्ठानले जनाएको छ ।
प्रदेश र पालिकामा सांस्कृतिक संरचना निर्माणमा सहजीकरण गर्न पहल गर्ने, बढ्दो तापक्रमले हिमालमा पारिरहेको प्रभावको पक्षमा केन्द्रित रहेर ‘हिमालको रहस्य’ विषयमा कला प्रदर्शनी गर्ने, संविधान र लोकतन्त्रको मूलभावमा रही गणतन्त्रको प्रतीक÷स्तम्भको नमुना (म्याकेट) प्रतियोगिता गर्ने पनि कार्ययोजनामा समेटिएको छ ।
महिला÷दलित÷जनजाति÷पछाडि पारिएका वा सुविधाविहीनलगायतका जनसमुदाय आदिको जागरणसम्बन्धी कार्यक्रम, सहिद दिवसको अवसर पारेर कला प्रदर्शनी, सिर्जनावृत्ति प्राप्त गरेका कलाकारका कला प्रदर्शनी, लुम्बिनी प्रदेशको दाङस्थित गढवा गाउँपालिकामा सेरामिक्स हब र वागमती प्रदेशको रामेछापस्थित सुनापति गाउँपालिकामा थाङ्का कला हब बनाउने योजनामा समावेश छ ।
अहिले त्यसको सम्भाव्यता अध्ययनको कार्य अन्तिम चरणमा पुगेको छ । सम्भव भएसम्म रेनोभेसन÷कन्जर्भेसन प्रशिक्षण, सिन्धुली कमलामाईस्थित कलाघर र पर्वत कुश्मास्थित शताब्दीघरसँग मिलेर कलासम्बन्धी कार्यक्रमसमेत गरिन पनि जनाइएको छ ।
किरात वास्तुकलाको खोज, नेपाली अर्थतन्त्रमा ललितकलाको योगदान, प्राज्ञिक खोज अनुसन्धानसम्बन्धी गोष्ठी, अन्तरक्रिया/कार्यशाला तथा यसैवर्षदेखि नेपाल ललितककला मेला पनि आयोजना गरिने भएको छ ।
परम्परागत ऐतिहासिक स्थल तथा कला सम्पदाहरूको अध्ययन, अनुसन्धान, कला सिर्जना, हस्तकलासम्बन्धी कलात्मक सारङ्गी, टुङ्गना, मुकुन्डो प्रशिक्षण तथा कार्यशाला, सेरामिक्स प्रशिक्षण, मिथिला क्षेत्रमा लोक चित्रकला र हस्तकलासम्बन्धी प्रशिक्षण तथा प्रदर्शनी, लिम्बू लोक÷हस्तकलाका बारेमा गोष्ठी, हिमाली लोक कला विषयक गोष्ठी तथा अन्तरक्रिया, खाम कलाको अनुसन्धान गरिने जनाइएको छ ।
आधुनिक तथा समसामयिक कलाकारका कला प्रदर्शनी, चित्रकला कार्यशाला (रसुवा), समावेशी चित्रकला प्रदर्शनी र कार्यशाला, प्रिन्टमेकिङ्ग कार्यशाला आदि गरिने कार्ययोजनामा उल्लेख छ ।
उक्त कार्यक्रममा उपकुलपति लालकाजी लामा, प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा राई, अरुणा हिङमाङ, प्राज्ञसभा सदस्य वासुदेव श्रेष्ठसँगै विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।