काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपालको मौलिक कला संस्कृतिलाई जोगाउन सके नेपाल पर्यटनको केन्द्र बन्ने बताउनुभएको छ ।
आज कामठाडौँमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १५ औँ प्राज्ञसभा उद्घाटन गर्नुहँदै मन्त्री किराँतीले नेपालमा विविध स्थानमा छरिएर रहेका मौलिक कला तथा सम्पदालाई जोगाउन सकेमा पर्यटनको विकास अझ सहज हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “कला, संस्कृतिको उत्थानका निमित्त तपाईँहरूले अहोरात्र काम गरिरहनुभएको छ । यसको विकास गर्न प्राज्ञिक क्षेत्रले विशेष योगदान गर्नुपर्ने छ ।”
उहाँले विदेशमा आधुनिकताले कलालाई खाइसकेको तर नेपालमा अझै पनि मौलिक कलाहरु राम्रो रहेकाले त्यसको संरक्षण जरुरी रहेको बताउनुभयो । उहाँले नेपालको हस्तकलालाई समाजवादी अर्थतन्त्र निर्माणको आधार बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठान अनुसन्धान, सिर्जना र सम्मानलाई प्राथमिकतामा राखेर अघि बढेको बताउँदै कला/सिर्जनालाई सामजिकीरण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले प्रतिष्ठानले अनुसन्धान, सिर्जना र सम्मानमा केन्द्रित गरेर याजना बनाई कार्यान्वयनतर्फ अघि बढेको बताउनुभयो ।
समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीले २०६४ को ऐनबाट सञ्चालित तीनवटै एकेडेमीले काम गरिरहेको तर २०७२ को संविधानपछि प्राज्ञिक काम र तीनका अधिकार प्रदेशमा पनि गएको बताउनुभयो ।
उहाँले कसले कति काम गर्ने र प्रदेश पालिकाले कति गर्ने अन्योलको स्थिति रहेकाले यसलाई व्यवस्थित र सजिलो कसरी बनाउने भन्ने विषयमा छलफल गर्नुपर्ने धारणा राख्नुभयो ।
सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राई कला, संस्कृति संगित तथा नाट्या क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानका पूर्वकुलपति रागिनी उपाध्यायले प्रतिष्ठानले आगामी दिनमा राष्ट्रियसँगै अन्तर्राष्ट्रिय कलासम्मेलन÷प्रदर्शनी जस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको र कला क्षेत्रमा बजेट बढाउनुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले १५औँ प्राज्ञ सभा विशेषतः नीति निर्माण र पुनर्जागरणका लागि आगामी योजना तयार गर्ने र रैथाने कला तथा ज्ञानलाई संरक्षण गर्न केन्द्रित हुने बताउनुभयो ।
प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले संस्कृतिको सैद्धान्तिकरण गर्ने र नेपाली कलाको विषयमा देखिएका समस्यालाई समाधान गर्न एकीकृत रूपले नीति बनाएर अघि बढ्ने योजनाका साथ प्रतिष्ठान लागेको बताउनुभयो ।