काठमाडौँ : नेपालमा पहिलो पटक यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन हुने भएको छ ।
‘यात्रा टु ह्यापिनेस’ भन्ने नाराका साथ आगामी जनवरी १८ र १९ (माघ ४ र ५ गते) मा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन आयोजना हुने भएको हो।
नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपाल, पहिचान फाउन्डेसन र गोर्खा इन्टरनेशन रेन्बोले बोर्डमा आयोजित पत्रकार सम्मेलनमा पर्यटन प्रवर्द्धनका लागि सम्मेलन गर्न लागेको जानकारी गराएको हो ।
पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले सम्मेलनले उक्त समुदायका व्यक्तिहरूका लागि उपयुक्त गन्तव्य भएको सन्देश दिने उनले बताइन्।
दक्षिण एसियामा पहिलो इन्द्रेणी विवाह दर्ता गरेका मायाको पहिचान नेपालका अध्यक्ष माया गुरुङ्ग र सचिव सुरेन्द्र पाण्डेले पर्यटन सम्मेलनले समूदायका सदस्यलाई रोजगारी सिर्जना गर्ने आशा व्यक्त गरे।
माया र सुरेन्द्र १३ मङ्सिर २०८० मा लामो कानुनी लडाइँको प्रक्रियापछि आफ्नो विवाहलाई आधिकारिक रूपमा मान्यता दिने नेपालको पहिलो समलिङ्गी जोडी बनेका छन्।
उनीहरूको विवाहले कानुनी रूपमा मान्यता प्राप्त गर्दा नेपाल समलिङ्गी विवाहमा दक्षिण एसियामा पहिलो देश बनेको छ। अहिले नेपालको नाम विश्वभर फैलिएको छ। यही मौकामा नेपालमा एलजीबीटीआई अन्तरराष्ट्रिय पर्यटन सम्मेलन हुन लागेको हो।
कानुनी रूपमा विवाह दर्ता हुनुलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका नागरिकको अधिकारका लागि कोसेढुङ्गा बनेको छ ।
२१ औँ शताब्दीमा नेपालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको अधिकारमा उल्लेखनीय विकास भएको छ।
नेपालको संविधानले उनीहरुको अधिकारलाई मौलिक अधिकारका रूपमा मान्यता दिएको छ।
अन्तर्राष्ट्रिय पर्यटन सम्मेलनको अवधारण एसियाका पहिलो समलिङ्गी सांसद सुनिलबाबु पन्तले ल्याएका हुन्। पन्त जकार्ता सिद्धान्तलाई एकीकरण गर्ने बैठकमा २७ विज्ञहरू मध्ये एक थिए।
पहिलो विवाह दर्तापछि उनीहरुको अधिकारका लागि च्याम्पियन मानिन्छ। समावेसी र विविधतालाई प्रवर्द्धन गर्दै यौनिक तथा लैङ्गिक अल्पसंख्यक पर्यटन कार्यक्रमहरूले विविध यौन झुकाव र लैङ्गिक पहिचान भएका व्यक्तिहरूका लागि सुरक्षित र स्वागत योग्य ठाउँ सिर्जना गर्ने पन्तले बताए।
यी कार्यक्रमहरूले पर्यटन, स्थानीय प्रतिष्ठानहरूको लागि व्यापार वृद्धि, र रोजगारीका अवसरमार्फत स्थानीय अर्थतन्त्रलाई बढावा दिने पन्तले बताए। ‘यो सकारात्मक परिवर्तन सिर्जना गर्ने र थप समावेशी र स्वीकार्य समाज निर्माण गर्ने अवसर हो’, पन्तले भने।
नेपालमा २३ वर्ष लगाएर यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको अधिकार प्राप्त भएको भन्दै अब आर्थिक र पर्यटकीय रूपमा अघि बढ्न सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने पन्तले बताए।
छिमेकी देशहरू भारत र चीनमा अधिकार नपाएको अवस्थामा नेपालमा उनीहरुको विवाह दर्ता भएको अवस्थामा नेपालले फाइदा लिन सक्ने पन्तले बताए। यो समुदायका व्यक्तिहरूलाई पर्यटनसँग जोडेर अघि बढ्न सके अर्थतन्त्रमा नै ठूलो परिवर्तन आउने उनको भनाइ छ।
युरोपियन मुलुक स्पेनमा यो समुदायलाई लक्षित गरेर काम गर्दा अर्थतन्त्रमा २० प्रतिशत सम्मको सहयोग पुगेको अध्ययनले देखाएको पन्तले जानकारी दिए।
कार्यक्रममा विदेशका ५० जना र नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको सहभागिता रहने उनको भनाइ थियो।
पत्रकार सम्मेलनमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बास्तोलाले यो समुदायलाई पर्यटन क्षेत्रसँग जोड्न सकिए बेरोजगार भएर सडकमा उभिनु पर्ने अवस्था नआउने बताए। नेपालमा यसको सम्भावना निकै उच्च रहेको उनको भनाइ छ।
‘खुसीको यात्रा’ नारासहित हुन लागेको सम्मेलनले नेपालमा विदेशी पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसीले पर्यटन सम्मेलनमार्फत समुदायका सदस्यको जीविकोपार्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।