चितवन । चितवन राष्ट्रिय निकुञ्जमा हालै २ गैँडा तस्करले मारेको घटना छानबिनका लागि गठित समितिले निकुञ्जको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाउँदै गैँडा संरक्षणमा चुनौती देखिएको औंल्याएको हो।
समितिले थप क्षति हुन नदिन आगामी माघ १ गतेभित्र निकुञ्जको पूरै क्षेत्रमा तत्काल ‘स्विप अपरेशन’ चलाएर वर्तमान अवस्थासहितको प्रतिवेदन विभागमा बुझाउन भनेको छ। गत कात्तिक ३० गते निकुञ्जको चपरचुली क्षेत्रमा ६ र १८ वर्षका दुईवटा पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका थिए।
पहिला ठूलो गैँडा र त्यसको ७ दिनपछि सानो गैँडा खाडलमा परेको पाइएको थियो। प्रतिवेदनमा उल्लेख गरिएअनुसार तस्करले गैँडा मार्न निकुञ्जको सुरक्षा पोष्टबाट २ दशमलव ३ किलोमिटर र राप्ती नदीको किनारबाट करिब ३ दशमलव ५ किलोमिटरनजिकै २० दिनभन्दा बढी समय लगाएर ७ वटा खाल्डा खनेका थिए।
गैँडा मारेको २० दिनसम्म पनि उक्त स्थानमा निकुञ्जका कोही पुगेनन् । ‘घटनास्थलनजिकै आगो बाल्ने अगेनो, कपडाका टुक्रा, पानीका बोतलसमेत भेटिएकाले तस्करहरु सेल्टर बनाएर बसेको देखिएको छ।
जंगलभित्र नै गैँडाको खाग काटेर, आगो बालेर खाग उमालेर सफा गरेको पनि पाइएको छ तर निकुञ्ज प्रशासनले त्यसको सुइँकोसम्म पाएन,’ प्रतिवेदनमा भनिएको छ। पछिल्ला ४ वर्षमा तस्करले ११ वटा गैँडा मारेको वन्यजन्तु तथा निकुञ्ज विभागलाई समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ।
निकुञ्जको मुख्य कार्यालय कसरा, सेक्टर कार्यालय सौराहा, रेञ्ज पोष्ट र पोष्टबाट गरिने गस्ती प्रभावकारी नभएको, संयुक्त गस्तीको संख्या न्यून भएको, अधिकांश समय राप्ती नदी तटीय क्षेत्रमा गस्ती गर्दा कोर इलाका र गैँडाको वासस्थानमा ध्यान केन्द्रित हुन नसकेको समितिले उल्लेख गरेको छ।
समितिले आपराधिक गतिविधि नियन्त्रण गर्न संवेदनशील क्षेत्रमा जासुसी क्यामेरा र वाइल्डलाइफ मनिटरिङ क्यामेरा राख्ने, नियमित गस्ती बढाउनेलगायतका सुझाव दिएको छ।