नारायण ढुंगाना,
नेपालको तेस्रो पर्यटकीय नगरी सौराहाको गहना हो थारु पहिचान । चितवनको सौराहा पुग्ने पर्यटक थारु संस्कृति र वन्यजन्तु अवलोकन गर्न रमाउँछन् ।
सौराहाका यी दुई विशेषता जोगाउने प्रयास फितलो छ । वन्यजन्तुमैत्री संरचनाको अभाव एकातिर छँदैछ । अर्कातर्फ थारु संस्कृति पलायन हुने हो की भन्ने चिन्ता छ ।
कंक्रिटका भवन र आधुनिकताले ढपक्कै ढाकेर सौराहाले आफ्नो मौलिक पहिचान गुमाउने हो की भन्ने चिन्ताका बीच दुई दाजुभाईले थारु संस्कृतिलाई जीवन्त बनाउने प्रयास थालेका छन् ।
भलै उनीहरुले निजी क्षेत्रबाट व्यवसायिक काम थाले पनि यो प्रयासले समाज परिवर्तनमा सकारात्मक उर्जा भरिदिन्छ । पर्यटन प्रवद्र्धनका साथै थारु संस्कृतिको संरक्षणमा उनीहरुको लगाव र योगदान भुल्न सक्ने खालको छैन ।
एउटा समुदायको पहिचानलाई जीवन्त बनाउन लाग्ने सौराहाका व्यवसायी हुन् श्रीराम र मधु सिलवाल । उनीहरु दाजुभाई हुन् । उनीहरुसँग पर्यटन क्षेत्रको लामो अनुभव छ ।
यी दाजुभाइले चितवनको मात्रै होइन देशभरीकै थारु संस्कृतिलाई एकत्रित गरी जीवन्त बनाउने महत्वकांक्षी सोच बनाएर कार्यान्वयनमा लगे । त्यसको नाम दिए ‘सौराहा थारु भिजेल’ अर्थात ‘हमार थारु गाउँ’ ।
उनीहरुले सौराहामा एउटा गहना थप्ने काम गरेका छन् भन्दा दुईमत नहोला । सौराहा थारु भिजेलमा चितवन, नवलपरासी, दाङ बर्दियालगायत विभिन्न जिल्लाका थारुले लगाउने पोशाकहरु राखिएको छ । सानो बच्चादेखि बयस्कले समेत ती पोशाक लगाएर रम्न पाउँछन् । भिलेज पुग्दा आफैँ थारु बनेको फिल हुन्छ । सौराहामा अपुरो रहेको थारुको परिचय थारु भिलेजले पुरा गरिदिएको छ ।
थारु भिलेजमा लगाइएका ४० वर्ष पुराना ८ लाख पिस खबटा (थारुको घरमा प्रयोग हुने पुराना टायल) ठोरी, माडी नवलपरासीलगायत ठाउँबाट जोरजाम गरिएको हो । थारुको वस्ती पहिचानकै लागि खबटामा यती धेरै खर्च गरिएको सञ्चालक मधु बताउँछन् ।
उनले भने, “नेपालभरकै थारुका पुराना सामान संकलन गरिरहेका छौँ, थारुको एउटा म्युजिएम नै बनाएका छौँ । थारुको कल्चर, थारुको गाउँ र थारुको संग्रहालयका रुपमा थारु भिलेजलाई विकास गरिएको छ ।”
भन्नैपर्दा सौराहामा थारुको बाहुल्य छ तर सांस्कृतिक बस्ती छैन । अहिले सौराहामा थारुको परम्परागत घर देख्नै मुस्किल छ । त्यसैले उक्त वस्ती जोगाउन सौराहा थारु भिलेज (हमार थारु गाउँ) को कन्सेप्ट आफूले ल्याएको मधु सिलवालले बताए । १० करोड बढीको लगानी गर्ने योजनासहित भिजेललाई अघि बढाइएको छ ।
सौराहामा दुई ठाउँमा थारु कल्चर हाउस छ । हल भित्र देखाइन्छ । तर त्यो भन्दा फरकरुपमा यहाँ खुला ठाउँमा थारु संस्कृति पस्किइन्छ । खाँदै खेल्दै कल्चर हेर्न पाइन्छ । त्यसमाथि पनि थारुकै मौलिक पोशाक लगाएर ।
नाच्ने मान्छेहरु पनि स्थानीय गाउँका थारु महिलाहरुलाई सिकाएर तयार पारिएको छ । हाल ५६ जना रोजगारीमा रहेकामध्ये ३७ जना महिला छन्। उनीहरुले हरेक दिन थारु शो देखाउँछन् ।
सौराहा घुम्न आएका पर्यटकहरु थारु भिलेर आएर रमाउँछन् । होटल व्यवसायीहरुले पनि पर्यटकलाई घुमाउन ल्याउँछन् । पर्यटक आफैँ पनि हेर्न आउँछन्, किनकी उक्त ठाउँ मौलिक पहिचान दिने खालको छ । चितवनमा पर्यटक आउँदा ‘सौराहा थारु भिलेज‘ नघुमे केही अभाव फिल गर्न सक्छन् ।
भिजेल विहान ९ बजेदेखि राती १० बजेसम्म खुला हुन्छ । दैनिक ३०० को हाराहारीमा यहाँ पर्यटकहरु घुम्ने गरेका छन् । दिउँसोमा १५० र रातीमा २०० टिकट शुल्क लाग्छ ।
“छिर्ने वित्तिकै गेष्टहरु यती खुसी हुन्छन् की, वाउ कस्तो ठाउँ रहेछ भन्नुहुन्छ, एकदम मन पराउँछन्, त्यो सुन्दा चाहिँ मलाई पैसा कमाए पनि नकमाए पनि खुसी लाग्छ, सन्तुष्टि मिल्छ”, मधुले अनुभव सुनाए। एकपटक घुमेका पर्यटक दोहोर्याएर सौराहा आए भने यहाँ नपसी नजाने गरेको उनले सुनाए।
यहाँ आएका पाहुनाहरु थारु गाउँ घुम्न पाएकोमा गौरव गर्छन् । थारुको पोशाक लगाएर थारुको खाना खाँदा, त्यही पोशाक मै सजिएर मनोरञ्जन लिँदा, संस्कृतिमा भिज्दा छुट्टै आनन्द लिन्छन् ।
भिलेज प्रवेश गर्ने वित्तिमै थारु गाउँकै फिल हुने गरी संरचना तयार पारिएको छ । दरबारमा दरबारै स्टायलको गेट हुन्छ भने झैँ थारु भिलेजको गेट थारु स्टायलले नै बनाइएको छ ।
दुईतिर खलिफा पनि बनाएको छ । छिर्ने वित्तिकै त्यो देखेर आनन्द लाग्छ । आकर्षक थारु आर्टहरु पनि सजिएका छन् । थारुको जन्मेदेखि मृत्युसम्म गरिने संस्कार, संस्कृति देख्न पाइन्छ । यहाँ थारुको जीवनचक्र नै देखाइएको छ ।
देशैभरका थारु सामग्री देखाउने सोचमा रहेका यी दाजुभाई अहिले सामग्री संकलनकै क्रममा छन् । धेरै त संकलन गरिसके ।
ढिकी घर, जाँतो घर नै छ । थारु कसरी सुत्थे ? थारुको भान्छामा के–के सामान कसरी राखिन्थ्यो ? भनेर दुरुस्त बनाइएको छ ।
“पकाउने कुरा त हामीले लाइभ देखाउँछौँ। त्यहीँ पकाएको खाना त्यहीँ लगेर गेष्टलाई खुवाउने हो । घौरामा रोटी पोलेको हुन्छ, त्यसको स्वाद पर्यटकले चाख्न पाउँछन्”, श्रीरामले सुनाए ।
सौराहा जाने पर्यटकले भिलेज नपसे अपुरो हुन्छ भन्ने फिल गराउने प्रयासमा रहेको उनीहरुले सुनाए । यसलाई व्यवसायिक भन्दा संस्कृति संरक्षणलाई जोड दिइएको उनीहरुको भनाइ छ ।
यसरी शुरु भएको थियो कन्सेप्ट
सौराहा घुम्न आउने गेष्टहरुका लागि सौरामा थारु भिलेज टुर भनेर प्याकेजमा पर्छ । एक दिन वा दुई दिन बसे पनि त्यो होटलहरुको प्याकेजमै पर्छ ।
अब थारुको बाहुल्य भएको ठाउँ थारुको गाउँनै सकिने अबस्थामा छ । थारु गाउँनै सकिएपछि विल्डिङ देखाउने काम भएन गेष्टलाई । त्यो सोचले नै थारु गाउँ बनाउने कन्सेप्ट ल्याएको मधुले बताए ।
सौराहामा पहिलेपहिले नेपाली जाने थिएनन् । विदेशी मात्रै जान्थे । त्यो बेला थारु कल्चर मन पराउने हुँदा थारु भिलेज घुम्दा स्वर्गीय आनन्द पाउँथे । विस्तारै नेपाली पनि जान थाले । अनि कंक्रिटका भवनहरु बन्न थाले । अनि थारु गाउँ हराउँदै गयो।
अनि न्यु टेष्ट के दिने भनेर सोचइले साधारण तरिकाले आएको मधुको कन्सेप्ट हो यो । थारु गाउँ नै लोप हुन थाल्यो । त्यसकारण ल्याएको योजना ल्याइएको हो ।
सौराहा थारु भिलेज २०७९ कात्तिकबाट सञ्चालनमा आएको हो । साँढे २ विगाहामा बनेको उक्त भिजेलको कन्सेप्ल २०७० सालदेखि कै हो । लागू गराउनलाई ६ वर्ष लाग्यो । सञ्चालन गर्न अर्काे ४ वर्ष ।
शुरुमा मधुले सौराहा रिफ्रेस भनेर पानीको फ्याक्टी चलाएका थिए । त्यसपछि सौराहा रिभर साइडमा सेन्ट्रल बीच भन्ने रेष्टुरेन्ट ८ वर्ष चलाए । लामो समय इटाली बसे पनि मधुलाई सौराहामा थारुको पहिचान हराउँदै गएको फिल हुन्थ्यो ।
कसरी जोगाउने होला भनेर सोच आइरहने गरेको उनले सुनाए । अन्ततः थारु गाउँको पहिचान जोगाउने निधो गरेर आफूले लगानी थालेको सुनाए । त्यसपछि थारु भिजेलको कन्सेप्टमा काम शुरु गरिएको हो ।
देशभरीकै थारुहरुको पहिचान देखिने गरी भिजेल तयार पारेका मधुले अझै नयाँ केही योजनाहरु सार्वजनिक गरेका छैनन् । अहिले थारुको पहिचान, खाना, थारु घर कल्चरहरु सबै समेटिएको छ ।
थारु भिलेज किन जाने ?
त्यो भित्र पस्ने वित्तिकै त्यसको वास्ना पनि थारुकै आउँछ, खाना पनि थारुकै आउँछ, संरचना नै थारुको आउँछ । कर्मचारीहरु पनि थारु नै छन् । यहाँ पुग्दा थारु कै वास्तविक गाउँ घुमेको फिल गराउने प्रयास गरिएको छ ।
भिजेलमा निर्माण गरिएको कला, थारुका मौलिक सामग्रीले मन लोभ्याइदिन्छ । थारुको पहिरन लगाएर थारु गाउँ घुम्न पाइन्छ । ढिकी कुट्न, जाँतो पिँध्न पाइन्छ । थारु पोशाक लगाएर लाईभ तोरी पेल्ने कोलमा काम गर्न पाइन्छ ।
मधु भन्छन्, “कसैले थारु पोशाक लगाएर घर पोत्न मन लाग्छ भने त्यो पनि अवसर छ, चुलोमा गएर थारु खाना पकाउन पनि पायो, हामी माटोकै भाँडामा थारु खाना पकाएर दिन्छौँ।”
लोकल माछा, हाँस, कुकुरा, थारुले खाने चिचर, थारुले खाने ढिक्री रोटी, चोखा, नुन मर्चाको स्वाद पाइन्छ । थारुको घर भित्र बसेर खान पनि पाइयो, पिंढीमा बसेर खान्छु भने पनि पायो , हैन टेवलमा बसेर खान्छु भने पनि पायो ।
बच्चाहरु खेल्नका लागि सानो पार्क पनि छ । टिपिकल्ली थारुकै लागि अध्ययन गर्न आउनेहरुका लागि चार वटा कोठा राखिएको छ । थारु गाउँ घुम्छौँ, थारुकै गाउँमा बस्छौँ भन्नेहरुलाई कोठामा प्राथमिता दिने उनले बताए।
थारु गाउँ भित्र दुई पहाड पनि बनाइएको छ । त्यहाँ चिप्लेटी खेलाउने र हिलो खेल्ने कार्यक्रम पनि गरिन्छ । थारुको बच्चाहरुले जसरी खेल्थे त्यही अनुभूति हुन्छ ।
थारुको पुरानो इनार छ । जिम्दारीहरुले प्रयोग गर्ने खटिया छ । अहिलेको आधुनिक मान्छेले हुक्का खान्छन् भने त्यहाँ तमाखुको स्वाद चाख्न पाइन्छ ।
पुरानो म्युजियम घर छ । थारु पोशाक लगाउने घर छुट्टै छ । थारुको धान मकै राख्ने छुट्टै घर छ । ठूला कार्यक्रम गर्नु परेमा ५०० जना अट्ने हल पनि छ ।
यो साँच्चै भन्दा स्कुलका विद्यार्थीका लागि अध्ययन भ्रमणको महत्वपूर्ण गाउँ बन्न पुगेको छ । स्पेनबाट आएका पर्यटकले थारु पोशाक लगाएर थारुकै संस्कृतिमा भिजेर डकुमेन्ट्री बनाएर लगेका छन् । उनीहरुले छुट्टै अनुभूति संगालेर गएका छन् ।
सौराहाकै गहना बनेको सौराहा थारु भिजेल जस्ता नयाँ संरचना र नयाँ प्याकेज समग्र सौराहाको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण इट्टा थप्ने काम गर्छ । सौराहाले यस्तै नयाँ सोच र नयाँ सेवा दिन जरुरी छ ।
थारु पोशाकमा सजिएर पुरानो गाडामा सौराहा भ्रमण
यहाँ थारुले प्रयोग गर्ने पुरानो गाडामा चढेर थारु कै पोशाक लगाएर सौराहा घुम्न पाइन्छ । यसका लागि भने छुट्टै शुल्क तोकिएको छ ।
सौराहामा थारु बनेर हिँड्न पाइने सुनौलो अवसर यहाँ प्राप्त छ । नयाँ कन्सेप्ट ल्याएका सिलवालले अनुभव सुनाउँदै भने, “अस्ति दुई तीन पटक त्यसरी भ्रमण गराइदिएको सौराहाको ड्याक साइडमा हेर्ने मान्छेको घुईंचो भयो, त्यो गेष्ट नै फ्रेस भयो, हामीलाई किन मान्छेले हेरिरहेको छ भनेर ।”
उनी थप्छन्, “सौरामा जसरी हुन्छ म नमूना काम गरेरै देखाउँछु , चेञ्ज दिने छु, तर यो कुरा सौरेलीले बुझन् जरुरी छ की चेञ्ज दिनुपर्छ, अहिले मलाई अली गाह्रो होला तर कोभिडमा त टिकेँ भने अब त जसरी पनि टिक्छु, तरचेञ्ज दिएरै छाड्छु ।”
उनले हरेक रात त्यसरी नै नयाँनयाँ सोचमा डुब्ने गरेको सुनाए । नाच्ने ठाउँमा मान्छेले यस्तो डिजाइन कसले बनाएको होला भनेर सोध्ने गरेको पनि अनुभव सुनाए । उनी समाज नै परिवर्तन गर्ने सोचको कन्सेप्ट भएको बताए ।
काठमाडौँका पर्यटन व्यवसायी अरुण सिलवाल नेपालभरको थारुहरुको पहिचान जोगाउने ठाउँ सौराहा थारु भिलेज हो भन्छन् । उनी थप्छन्, “थारु कल्चरलाई जीवन दिँदै छ मधु सिलवालले, ७७ वटै जिल्लाका थारुहरुलाई समेटेर त्यो चिज पस्किन खोलिरहेको यो सौराहाको गहना हो ।” उनी अर्गानिक र नयाँ गन्तव्यमा पर्यटक पठाउने व्यवसायी हुन् ।