काठमाडौँ । काठमाडौँमा भोलिदेखि शुरु हुने पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तरराष्ट्रिय वाटरकलर फेष्टिवल)को सबै तयारी पुरा भएको छ ।
कुल ३९ देशका ३४० कलाकृतिहरु प्रदर्शनी गरिने उक्त कला महोत्सवमा विदेशी ३० सहित झण्डै २०० कलाकारहरुको प्रत्यक्ष सहभागिता रहने कार्यक्रम संयोजक एनबी गुरुङले जानकारी दिनुभयो ।
नेपाल कला परिषद्मा भोलि उक्त महोत्सव उद्घाटन हुने छ । खेलकुदमन्त्री डिगबहादुर लिम्बुले महोत्सव उद्घाटन गर्दैछन् । यो महोत्सल नेपाली ललितकलाकै महाउत्सव हो । कला महोत्सवमा सहभागी हुन बेलायत, म्यानमार, थाइल्याण्ड, बंगलादेश, भारत, अष्ट्रियालगायत देशका ३० जना कलाकारहरु नेपाल आइसकेका छन् । सहभागी गराइएको ३४० कला सिर्जनामध्ये नेपालका ११५ जना कलाकारका सिर्जना सहभागि गराइएको छ।
अन्तरराष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजनामा हुन लागेको मकला महोत्सव यही मंसिर १६ गतेदेखि २० गतेसम्म चल्ने छ । उद्घाटन पछि परिषदमा विदेशी कलाकारको सहभागितामा कला डेमोस्ट्रेसन हुने र त्यसबाट सिअकाई आदानप्रदान हुने समाजका अध्यक्ष एबं महोत्सव संयोजक गुरुङले बताउनुभयो ।
महोत्सवबारे आज पत्रकारहरुलाई जानकारी दिँदै संयोजक गुरुङले कला पारखीहरुलाई भोलि देखि हुने कार्यक्रममा सहभागिताका लागि अनुरोध पनि गर्नुभएको छ । उहाँले झण्डै १३ देखि १४ लाख खर्च हुने अनुमान गरिएको जलरङ महोत्सव अन्तरगत काठमाडौँ, ललितपुर र भक्तपुरका सम्पदा क्षेत्रमा गएर कला कार्यशाला समेत हुने तथा कलाकारहरुलाई नगरकोट लगेर सूर्याेदय र सूर्यस्तको दृष्यावलोकन गराई कला सिर्जना गराइने छ ।
यस खालको कार्यक्रममा नेपाली कलाकारहरुले विदेशको र विदेशका कलाकारले नेपालको कला सिर्जनासम्बन्धी प्रविधि तथा ज्ञान चिन्न र जान्न सकिने समाजका सदस्य डिबी राईले बताउनुभयो । यसपाली कलाकारहरुलाई सम्मान तथा पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
धेरै कलाकारले काठमाडौँको सम्पदा क्षेत्रका चित्रहरु जलरङबाट सिर्जना गर्ने भएकाले नेपालको पहिचान विश्वसामु पुर्याउन पस्किन पाइने र पर्यटन प्रवद्र्धनमा पनि ठूलो सहयोग पुग्ने विश्वास गरिएको समाजका वरिष्ठ उपाध्यक्ष दिराम पापलालीले बताउनुभयो । यसअघि समाजले महोत्सवकै रुपमा लुम्बिनी, पोखरा, काठमाडौँलगायत विभन्नि क्षेत्रमा यसैगरी कला महोत्सव गरिसकेएको छ ।