काठमाडौँ । जाज।रकोट भूकम्प पीडितले हातमै रकम पाउन थालेका छन् । सरकारले भूकम्प प्रभावितको अस्थायी आवास निर्माणका लागि रकम निकासासम्बन्धीको कार्यविधिलाई सरलिकृत गरेसँगै रकम निकासाको काम तिव्र पारेको छ । माग हुनेवित्तीकै निकासा गर्ने गरी तयारी गरिएको छ ।
हालै सरकारले “भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० लाई केही संसोधन गर्दै सरल बनाएपछि आजसम्ममा भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापत रु २ करोड ५३ लाख ५० हजार रकम निकासा भएको छ ।
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार लाभग्राही निश्चित भएका एक हजार १४ लाभग्राहीका लागि उक्त रकम निकासा गरिएको हो ।
प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले उक्त रकम लाभग्राहीको हातमै पुगिसकेको जानकारी दिनुभयो । कार्यविधि संसोधन गर्दै सरकारले बैंक खातामा दिनुपर्ने अनिवार्य व्यवस्थालाई संसोधन गरी हातमै दिनसकिने गरी कार्यविधि बताएको थियो ।
सोही आधारमा रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाका पहिचान भएका ६४ घरपरिवार (लाभग्राही) का लागि रु १६ लाख, रुकुमपश्चिमको आठविसकोट नगरपालिकाका ५०० लाभग्राहीका लागि रु एक करोड २५ लाख र रुकुम पश्चिमकै सानीभेरी गाउँपालिकाका ४५० लाभग्राहीका लाग रु एक करोड १२ लाख ५० हजार रकम निकासा भएको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।
बाजुरा जिल्लाको पाँच स्थानीय तहबाट एक हजार ३६१ लाभग्राही कायम गरी जिल्लाबाट रकम निकासाको माग भइ आएका र उनीहरुका लागि पनि छिट्टै रकम निकासा हुने उहाँले बताउनुभयो ।
सरकारले चिसोको समयमा छिटो लाभग्राहीको अस्थायी घर निर्माण गर्नुपर्ने भएकाले सोही अनुसार रकम निकासा तीव्र पारिएको जनाएको छ ।
लाभग्राही निश्चित भएर रकम माग हुने वित्तिकै अन्य क्षेत्रका लाभिग्राहीका लागि पनि अस्थायी आवास निर्माणबापतको पहिलो किस्ताको रकम निकासा हुने पनि खड्काले बताउनुभयो । पहिलो किस्ताबापत प्रतिलाभग्राहीले रु २५ हजार पाउनेछन् ।