काठमाडौँ । विहे गरेर युके लैजाने भनी लोभ देखाएर एक महिलाले लाखौँ ठगी गरेको भेटिएको छ ।
ती महिलाले आफू युकेको नागरिक भएको बताउँदै विहे गरेर लैजाने लोभ देखाई तत्काललाई विभिन्न पार्सल पठाएको भन्दै यसरी ठगी गरेको पाइएको प्रहरीको साइबर ब्यूरोले आज राससलाई जानकारी दिएको छ ।
ब्यूरोका उपनिर्देशक, प्रहरी उपरीक्षक नरेन्द्र चन्दले सामाजिक सञ्जालको दुरुपयोग गर्दै उनले प्रलोभनमा पारी पीडितबाट ३ लाख ३० हजार रकम ठगी गरेको बताउनुभयो ।
उहाँका अनुसार यसरी ठगी गर्नेमा पाँचथर जिल्लाको फिदिम नगरपालिका ११ घर भई हाल झापा बस्ने ३४ वर्षकी कमला मिश्र रहेको पाइएको छ ।
उनले युकेको नागरिक हुँ, विवाह भएको छैन, विहे गरेर लैजान्छु भन्दै पीडितसँग सामाजिक सञ्जालबाट सम्पर्क गरेकी थिइन् ।
सो क्रममा उनले चिनाजान गरी जन्मदिनको उपलक्ष्यमा आइफोन, लुगा, ब्याग, सुनका घडी तथा ७० हजार डलर पठाइदिन्छु, डेलिभरीले सम्पर्क गरेपछि मैले पठाएको गिफ्ट सामानहरु लिनु भनि म्यासेज लेखेर फोटोसमेत पठाई रकम ठगी गरेकी थिइन् ।
ठगिएपछि पीडितले साइबर ब्यूरोमा निवेदन दिएका र सोही निवेदनका आधारमा विद्युतीय माध्यामबाट ठगी गरेको आरोपमा पक्राउ गरी अनुसन्धान गरिरहेको चन्दले बताउनुभयो ।